मिथिलामा चैती छठको रौनक: आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

महोत्तरी, १० चैत । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज लोक आस्थाको महापर्व चैती छठ उत्साहका साथ मनाइँदैछ । चार दिनसम्म चल्ने यस अनुष्ठानको आज तेस्रो तथा मुख्य दिन हो । आज साँझ व्रतालुहरूले विभिन्न जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ अर्पण गर्दैछन् ।

गत आइतबार ‘नहा–खा’ विधिबाट सुरु भएको यो पर्वअन्तर्गत सोमबार व्रतालुहरूले दिनभरि उपवास बसेर राति ‘खरना’ विधि सम्पन्न गरेका थिए । आज षष्ठी तिथिका दिन घरमा तयार पारिएका विशेष पकवानहरू लिएर श्रद्धालुहरू छठ घाटतर्फ जाने क्रम सुरु भएको छ ।

छठका लागि गहुँ र चामलको पीठोबाट बनाइएका ठेकुवा, भुसवा, खजुरीया जस्ता परम्परागत मिठाईका साथै केरा, उखु, अदुवा, बेसार र विभिन्न ऋतुफलहरूलाई ढाकन र नाङ्लोमा राखेर जलाशय किनारमा सजाइएको छ । अस्ताचलगामी सूर्यलाई अर्घ दिनका लागि महोत्तरीका जलेश्वर, मटिहानी, बर्दिवासलगायतका स्थानमा रहेका पोखरी र नदी किनारहरूलाई विशेष रूपमा सिँगारिएको छ ।

जलेश्वरनाथ महादेवका पुजारी कामेश्वर पाठकका अनुसार, संसारमा छठ मात्र यस्तो पर्व हो जहाँ अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिन्छ । यसले मानवलाई सबै जीवप्रति सहानुभूति राख्न र सत्य–अहिंसाको मार्गमा लाग्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ ।

कुनै समय तराई–मधेसमा मात्र सीमित रहेको यो पर्व अहिले काठमाडौँ, पोखरा, धरान र इटहरी जस्ता प्रमुख सहरहरूमा पनि उत्तिकै श्रद्धाका साथ मनाउन थालिएको छ । हिन्दु धर्मावलम्बीहरूका साथै मुस्लिम समुदायका व्यक्तिहरूले समेत यसमा सहभागिता जनाउने भएकाले यसलाई सामाजिक सद्भावको सेतुका रूपमा समेत लिइन्छ ।

पौराणिक मान्यताअनुसार द्रोपदीसहित पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सूर्यपुराणमा माता अनुसूइँयाले सर्वप्रथम यो व्रत गरेको उल्लेख छ । पारिवारिक सुख, शान्ति र रोग व्याधिबाट मुक्तिको कामना गर्दै यो व्रत बस्ने गरिन्छ ।

आज अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरूले भोलि (बुधबार) एकाबिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो महापर्व विधिवत् रूपमा समापन हुनेछ । चैती छठको अवसरमा मिथिलाञ्चलका गाउँ–बस्तीहरू यतिबेला छठका लोकगीतले गुञ्जायमान बनेका छन् ।