कोलम्बियामा सैन्य विमान दुर्घटना : ६६ सैनिकको मृत्यु, ५७ जनाको जीवितै उद्धार

कोलम्बिया, १० चैत्र । कोलम्बियाको दुर्गम अमेजन क्षेत्रमा एक सैन्य यातायात विमान दुर्घटना हुँदा ६६ जना सैनिकको मृत्यु भएको छ। १२८ जना सवार उक्त विमान उडान भरेको केही समयमै दुर्घटनाग्रस्त हुँदा देश नै गहिरो शोकमा डुबेको छ।

कोलम्बियाका रक्षामन्त्री पेद्रो सान्चेजका अनुसार, पुतुमायो प्रान्तको पोर्टो लेगुइजामो नजिकै दुर्घटना भएको उक्त विमानमा ११५ जना सैनिक, ११ जना चालक दलका सदस्य र २ जना राष्ट्रिय प्रहरी सवार थिए। घटनामा ५७ जनालाई जीवितै उद्धार गरिएको छ भने ४ जना अझै बेपत्ता छन्।

दुर्घटनास्थल इक्वेडर र पेरुको सीमासँग जोडिएको दुर्गम क्षेत्र हो। दुर्घटनापछि विमानमा भीषण आगलागी भएको थियो। सार्वजनिक भएका तस्बिर र भिडियोमा स्थानीय बासिन्दा र जीवित सैनिकहरू आगो निभाउन र उद्धारमा खटिएको देखिन्छ।

स्थानीय उपमेयर कार्लोस क्लारोसले सीमित स्वास्थ्य पूर्वाधारका कारण घाइतेहरूलाई प्राथमिक उपचारपछि हेलिकप्टर र विशेष विमानमार्फत राजधानी बोगोटालगायतका ठूला अस्पतालमा पठाइएको जानकारी दिए। उनले उद्धार कार्यमा स्थानीयले देखाएको सक्रियताको प्रशंसा समेत गरे।

कोलम्बियाका सशस्त्र बल प्रमुख ह्युगो अलेजान्द्रो लोपेज ब्यारेटो र रक्षामन्त्री सान्चेज दुवैले यस घटनामा कुनै सशस्त्र विद्रोही समूहको संलग्नता नरहेको स्पष्ट पारेका छन्।

वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भाका अनुसार, उडेको केहीबेरमै विमानमा प्राविधिक समस्या आएको थियो र विमानस्थलबाट करिब दुई किलोमिटर टाढा खसेको थियो। उड्डयन विश्लेषक एरिक सौमेथले दुर्घटनाग्रस्त ‘हर्कुलस सी–१३०’ विमान सन् २०२० मा अमेरिकाले उपलब्ध गराएको र यसको राम्रो मर्मतसम्भार हुँदै आएको बताएका छन्। उनले पार्टपुर्जाको कमीभन्दा पनि अचानक इन्जिन फेल भएको हुन सक्ने भन्दै गहिरो अनुसन्धानको माग गरेका छन्।

यस दुःखद घटनासँगै कोलम्बियामा राजनीतिक तरंग पनि सुरु भएको छ। राष्ट्रपति गुस्ताभो पेट्रोले घटनाप्रति दुःख व्यक्त गर्दै प्रशासनिक ढिलासुस्ती अन्त्य गरी सैन्य उपकरणको आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन्।