हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घीय कर्मचारीप्रति ऐक्यबद्धता जनाउने अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ, चैत ११ । हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरूप्रति ऐक्यबद्धता प्रकट गर्न आज मार्च २५ तारिखका दिन विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । विश्वका जोखिमपूर्ण क्षेत्रमा मानवीय सहायता र शान्ति स्थापनार्थ खटिएका कर्मचारीहरूको सुरक्षा सुनिश्चितता, न्यायको खोजी र उनीहरूको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्नु यस दिवसको मुख्य उद्देश्य रहेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यो दिवस सन् १९८५ मा लेबनानबाट अपहरणमा परेका पत्रकार एलेक कोलेटको स्मृतिमा मनाउन थालिएको हो । कोलेट राष्ट्रसङ्घीय राहात तथा कार्य निकाय (युएनआरडब्ल्युए) सँग आबद्ध रही कार्यरत रहँदा सशस्त्र समूहद्वारा अपहरित हुनुभएको थियो । लामो समयसम्म बेपत्ता रहनुभएका कोलेटको शव सन् २००९ मा लेबनानको बेक्का उपत्यकामा फेला परेको थियो ।

सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भएयता विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा खटिएका सयौँ कर्मचारीहरूले कर्तव्य पालनाका क्रममा ज्यान गुमाइसकेका छन् । विशेषगरी सन् १९९० को दशकमा शान्ति स्थापना ‘मिसन’हरूको विस्तार भएसँगै कार्यक्षेत्रमा जोखिम बढ्दा ठुलो सङ्ख्यामा कर्मचारीहरूले शहादत प्राप्त गरेका थिए ।

यस विशेष अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक सन्देश जारी गर्दै जटिल र जोखिमपूर्ण परिस्थितिमा कार्यरत कर्मचारी तथा शान्ति सैनिकहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायलाई एकजुट हुन आह्वान गर्नुभएको छ । उहाँले कर्मचारीहरूका लागि अनुकूल र सुरक्षित कार्य वातावरण निर्माण गर्नु सबै सदस्य राष्ट्रहरूको साझा दायित्व भएको कुरामा जोड दिनुभएको छ ।