प्रधानमन्त्री कप क्रिकेट: बागमतीमाथि नेपाल पुलिसको ७ विकेटको शानदार जित

काठमाडौँ, चैत १२ ।  राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा पुलिसले बागमती प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।

बागमती प्रदेशले प्रस्तुत गरेको २६६ रनको चुनौतीपूर्ण लक्ष्य नेपाल पुलिसले ४४ ओभरमा मात्र ३ विकेट गुमाउँदै सहजै पूरा गर्‍यो । 

पुलिसको जितमा ओपनर शङ्कर रानाले सानदार शतकीय इनिङ्स खेले । उनले १२८ बलको सामना गर्दै १३ चौका र ४ छक्काको मद्दतमा ११६ रन बनाए । अर्का ब्याटर दिनेश खरेलले ७५ बलमा ७० रनको अर्धशतकीय योगदान दिए । त्यस्तै, कप्तान आरिफ शेख ४३ र रशिद खान १० रनमा अविजित रहे । बलिङतर्फ बागमतीका रिजन ढकाल, सन्दीप लामिछाने र सुवास खत्रीले १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २६५ रनको योगफल तयार पारेको थियो । बागमतीका लागि पवन थापाले सर्वाधिक ७९ रन जोडे भने इशान पाण्डेले ७१ रनको योगदान दिए । अन्य ब्याटरहरूमा आशुतोष घिरैयाले २२, उत्तम थापाले २१ र कप्तान सन्दीप लामिछानेले १३ रन बनाए ।

पुलिसका बलरहरू दिनेश खरेल र रशिद खानले समान ३-३ विकेट लिए भने करण केसीले २ विकेट झारे ।

तीन विभागीय टोली र सात प्रदेश गरी कुल १० टोली सहभागी यस प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।