झापामा ‘चन्द्रगढी महिला गोल्डकप’ हुने : विजेतालाई ११ लाख रुपियाँ पुरस्कार
काठमाडौँ, चैत १६ । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा आगामी वैशाख ५ गतेदेखि ‘चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । चन्द्रगढी युवा क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता वैशाख १४ गतेसम्म सञ्चालन हुनेछ ।
१० टोलीको सहभागिता
आयोजक क्लबका अध्यक्ष रोहित सुब्बाका अनुसार प्रतियोगितामा नेपालका प्रतिष्ठित क्लबहरू र छिमेकी राष्ट्रका टोली गरी कुल १० टिमको सहभागिता रहनेछ । जसमा नेपालका तीन विभागीय टोलीहरू-सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब रहेका छन् । त्यसैगरी, ए डिभिजन क्लबहरू चर्च ब्वाइज युनाइटेड, सङ्कटा फुटबल क्लब र आयोजक चन्द्रगढी युवा क्लबको सहभागिता रहने निश्चित भएको छ ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरको सहभागिता जनाउन भारत र भुटानका एक–एक क्लबले पनि प्रतिस्पर्धा गर्ने अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । विदेशी खेलाडीको हकमा नेपाली टिमले चार जनासम्म खेलाडी दर्ता गर्न पाउने र एक पटकमा तीन जनालाई मैदानमा उतार्न पाउने नियम तय गरिएको छ ।
पुरस्कार राशी
प्रतियोगिताको उपाधि विजेताले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । विधागत पुरस्कारतर्फ प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई ११ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । यस्तै, प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ले ५० हजार रुपियाँ प्राप्त गर्नेछन् भने अन्य विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
लक्ष्य र उद्देश्य
झापालाई महिला फुटबलको केन्द्र (हब) का रूपमा स्थापित गर्ने र फुटबलमा भविष्य खोजिरहेका महिला खेलाडीहरूलाई राष्ट्रिय स्तरको मञ्च प्रदान गर्ने उद्देश्यले यो गोल्डकप आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । यस प्रतियोगिताले प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय टोलीको प्रतिनिधित्वका लागि तयार पार्न सहयोग पुग्ने विश्वास लिइएको छ ।