लेबनानका स्वास्थ्य केन्द्रमा आक्रमण जारी रहेको राष्ट्रसङ्घको चेतावनी

एजेन्सी, १७ चैत्र । लेबनानका स्वास्थ्य केन्द्रहरूमा निरन्तर आक्रमण भइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले गम्भीर चिन्ता व्यक्त गरेको छ । पछिल्लो समय लेबनानका स्वास्थ्य केन्द्रलक्षित ८७ वटा आक्रमणका घटना हुँदा ५२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने अन्य १२६ जना घाइते भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार, पछिल्लो एक सातामा मात्रै सातवटा आक्रमणका घटना दर्ता भएका छन् । ती आक्रमणमा परी कम्तीमा नौ जना स्वास्थ्यकर्मीले आफ्नो कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका छन् ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले दक्षिणी लेबनानमा भएको आक्रमणमा कैयौँ हताहत हुनुका साथै एम्बुलेन्ससहितका सवारीसाधनमाथि पनि प्रहार भएको बताउनुभएको छ । यस्तो कठिन परिस्थितिका बाबजुद राष्ट्रसङ्घ र यसका साझेदार संस्थाहरूले लेबनानमा आवश्यक मानवीय सहयोग र सहकार्य जारी राखेको उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता डुजारिकका अनुसार, डब्लुएचओ र अन्य साझेदार संस्थाहरूले विस्थापितहरूलाई स्वास्थ्य परामर्श दिनुका साथै २२ हजारभन्दा बढी मानिसलाई आवश्यक औषधि प्रदान गरेका छन् । दक्षिणी लेबनानमा सैन्य कारबाही विस्तार गर्ने इजरायली सरकारको घोषणाको सन्दर्भमा उहाँले मानवीय सहायताकर्मी, स्वास्थ्यकर्मी र नागरिक पूर्वाधारको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

यसैबीच, लेबनानका लागि मानवीय संयोजक इमरान रिजा र डब्लुएचओका प्रतिनिधि डा. अब्दिनसिर अबुबाकरले संयुक्त विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी र उद्धारकर्मीहरूको सुरक्षाका लागि आह्वान गर्नुभएको छ ।

विगत २४ घण्टाको अवधिमा भएका दुई छुट्टाछुट्टै घटनामा परी तीन जना शान्ति सैनिक (शान्ति रक्षक) को समेत मृत्यु भएको जनाइएको छ ।