कैलालीमा औलो र कालाजार नियन्त्रण गर्न विषादी छर्कन सुरु
कैलाली, १७ चैत । कैलालीमा औलो (मलेरिया), कालाजारलगायतका कीटजन्य रोग नियन्त्रणका लागि विषादी छर्कन थालिएको छ । अभियानअन्तर्गत जिल्लाका जोखिमयुक्त सयौँ घरमा विषादी छर्किने स्वास्थ्य कार्यालयले जनाएको छ ।
धनगढीबाट सुरु भएको यस अभियानअन्तर्गत टीकापुरमा औलो र कालाजारका बिरामी भेटिएका घर तथा आसपासका क्षेत्रमा विषादी छर्कने काम सम्पन्न भइसकेको छ । टीकापुरका नौवटा घरमा औलोका बिरामी रहेकाले प्राविधिकको सहयोगमा विषादी छर्किएको स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मीनबहादुर धामीले जानकारी दिनुभयो ।
“प्रभावित तथा सम्भावित महामारी क्षेत्रमा यो अभियान सञ्चालन भइरहेको छ,” उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको साउनदेखि हालसम्म औलो र कालाजारका बिरामी देखिएका स्थान वरपर प्राथमिकताका साथ विषादी छर्कन थालिएको हो ।”
उहाँका अनुसार, हालसम्म कैलालीमा एक सय चार जना औलो र कालाजारका बिरामी भेटिएका छन् । ती बिरामीको बसोबास रहेको क्षेत्रका सयौँ घरमा विषादी छर्कने कार्यालयको योजना छ ।
सरकारले सन् २०३० सम्ममा औलो र कालाजार निवारण गर्ने लक्ष्य लिएको छ । यसका लागि स्वास्थ्य संस्थाहरूले परीक्षणको दायरा विस्तार, रोग पहिचान, तथ्याङ्क व्यवस्थापन, निःशुल्क उपचार, ‘केस–बेस्ड सर्भिलेन्स’ (बिरामीमा आधारित निगरानी) र प्रतिकार्यात्मक गतिविधिलाई प्राथमिकतामा राखेका छन् ।
यसैबीच, महिला स्वास्थ्य स्वयंसेविका सुशीला विकले विपन्न बस्तीमा कीटजन्य रोगको जोखिम बढी हुने भएकाले बिरामी देखिएका घरमा मात्र नभई पूरै गाउँमा विषादी छर्कने व्यवस्था मिलाउन माग गर्नुभएको छ ।