बैतडीको शिवनाथमा विपद् पूर्व सूचनाका लागि ‘सतर्कता केन्द्र’ सञ्चालन
काठमाडौँ, चैत १९ । महामारी तथा प्राकृतिक विपद्का समयमा तत्काल सूचना आदानप्रदान गरी सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बैतडीको शिवनाथ गाउँपालिकामा ‘सतर्कता केन्द्र’ सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाको वडा नं. ३ स्थित श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रमा यो केन्द्र स्थापना गरिएको हो ।
आपत्कालीन अवस्थामा स्थानीयलाई पूर्वसूचना दिन स्वास्थ्य केन्द्रको भवनमा शक्तिशाली साइरन जडान गरिएको छ। केन्द्रका प्रमुख मोहन कलौनीका अनुसार उक्त साइरनको आवाज करिब एक किलोमिटरको परिधिसम्म सुनिनेछ। साइरनको पहुँच नपुग्ने टाढाका बस्तीहरूमा भने माइकिङमार्फत अत्यावश्यक सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको समन्वयलाई प्राथमिकतामा राखेर यो पहल सुरु गरिएको हो। यस व्यवस्थाले आकस्मिक दुर्घटना वा महामारीका समयमा सर्वसाधारणलाई सचेत गराउन र उद्धार तथा राहत कार्यलाई गति दिन सहज हुने अपेक्षा गरिएको छ ।
शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले सतर्कता केन्द्रको स्थापनाले नागरिक सुरक्षा र सचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँका अनुसार समयमै सूचना प्रवाह हुँदा राज्यका निकायहरूलाई प्रभावकारी रूपमा सेवा प्रवाह गर्न र विपद्बाट हुन सक्ने सम्भावित क्षति कम गर्न ठूलो मद्दत पुग्नेछ ।