नेपालगन्जमा युवती जलाइएको घटना: छानबिनका लागि डीएसपीको नेतृत्वमा ५ सदस्यीय टोली गठन

बाँके, १९ चैत । बाँकेको नेपालगन्जमा २२ वर्षीया सिर्जना बुढामगरलाई जलाइएको र उपचारका क्रममा उनको मृत्यु भएको घटनाबारे सूक्ष्म अनुसन्धान गर्न प्रहरीले विशेष टोली गठन गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिनका लागि पाँच सदस्यीय अनुसन्धान टोली बनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीको नेतृत्वमा गठित टोलीमा प्रहरी निरीक्षक र नायब निरीक्षकहरू सहभागी छन्। टोलीले घटनास्थलबाट तथ्य र प्रमाण सङ्कलन गरी १० दिनभित्र जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने कार्यादेश पाएको छ।

गत शनिबार राति नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित नर्सिङ होम पछाडि सिर्जना शरीर जलेको बीभत्स अवस्थामा फेला परेकी थिइन्। प्रहरीले उनलाई तत्काल उद्धार गरी भेरी अस्पताल पुर्‍याएको भए पनि उपचारकै क्रममा उनको ज्यान गएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक सिर्जना र मोहम्मद आरिफ ढपाली लामो समयदेखि ‘लिभिङ टुगेदर’ (विवाह नगरी सँगै बस्ने) मा रहेको खुलेको छ। सोही सम्बन्धमा खटपट हुँदा घटना घटेको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा मुख्य अभियुक्त मोहम्मद आरिफ ढपालीसहित उनकी आमा र दिदीलाई नियन्त्रणमा लिइसकेको छ। ढपालीलाई भारतको बहराइचबाट पक्राउ गरिएको हो भने अन्य दुई जनालाई नेपालगन्जबाटै नियन्त्रणमा लिइएको डीएसपी पातलीले जानकारी दिनुभयो।

यस घटनामा पीडित पक्षले ६ जनाविरुद्ध किटानी जाहेरी दिएको छ। जाहेरीमा उल्लेखित अन्य दुई जना अभियुक्त भने अझै फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। नवनिर्वाचित विशेष टोलीले घटनाको प्राविधिक पक्ष, प्रत्यक्षदर्शीको बयान र पक्राउ परेकाहरूको बयानका आधारमा सत्यतथ्य बाहिर ल्याउने विश्वास लिइएको छ।