रौतहटको लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता: खोजीका लागि सुरक्षाकर्मी परिचालन

रौतहट, २६ साउन । रौतहटको देवाही गोनाही नगरपालिकास्थित लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सोमबार दिउँसो करिब २:०० बजे देवाही गोनाही नगरपालिका–१ करुनियास्थित खोलामा पौडी खेल्ने क्रममा बालबालिका हराएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार बेपत्ता हुनेहरूमा:
१. रमतुलाह (स्थानीय करमे आलमका छोरा)
२. सबनम खातुन (हिसी अकतरकी छोरी)
३. रौशन खातुन (शेख खुर्सैदकी छोरी) रहेका छन् । बेपत्ता भएका तीनै जना बालबालिका १० वर्षभन्दा कम उमेरका रहेका छन् ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा ७ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो । खोजी कार्यलाई सघन बनाउन जिल्लास्थित सशस्त्र प्रहरी बलको १४ जनाको विशेष टोली ‘रबर बोट’ सहित परिचालन गरिएको छ ।

घटनास्थल प्रहरी कार्यालयबाट करिब ६ किलोमिटर दक्षिणमा पर्दछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोलामा व्यापक खोजतलास गरिरहेको भए पनि अहिलेसम्म बालबालिकाको अवस्था पत्ता लाग्न सकेको छैन ।