भोलिदेखि सातामा दुई दिन सार्वजनिक बिदा, १८ करोड ५० लाख डलर ऋण स्वीकार

काठमाडौं, २२ चैत । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, यो निर्णय भोलिदेखि नै सम्पूर्ण सरकारी कार्यालय र सबै शैक्षिक संस्थाहरूमा लागू हुनेछ ।

मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण विकास परियोजनाका लागि दातृ निकायबाट कुल १८ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, ‘डिजिटल नेपाल ट्रान्सफरमेसन’ परियोजनाका लागि एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकबाट ९ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने निर्णय भएको छ । यसैगरी, ‘दिगो र समावेशी वित्त’ परियोजनाका लागि विश्व बैंकबाट थप ९ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गरिनेछ ।