ट्रम्पको चेतावनीपछि झस्कियो इरान : सम्भावित ‘त्रासदी’ रोक्न खाडी राष्ट्रलाई आह्वान
एजेन्सी, २४ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण गर्ने चेतावनीसहितको समयसीमा नजिकिँदै गर्दा इरानले सम्भावित ‘त्रासदी’ रोक्न खाडी राष्ट्रहरूलाई गुहारेको छ ।
कुवेतका लागि इरानी राजदूत मोहम्मद तौतुनजीले यस क्षेत्रमा हुन सक्ने भयानक त्रासदी रोक्न आफ्ना सबै कूटनीतिक र राजनीतिक प्रभाव प्रयोग गर्न खाडी राष्ट्रहरूलाई आग्रह गरेका हुन् ।
रणनीतिक महत्त्वको जलमार्ग ‘होर्मुज स्ट्रेट’मा निर्वाध आवतजावत गर्न नदिए इरानका महत्त्वपूर्ण पूर्वाधारहरूलाई ‘पूर्ण रूपमा ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पले चेतावनी दिएका छन् । यसका लागि अमेरिकाले इरानलाई मध्यरात (जीएमटी) सम्मको समयसीमा तोकेको छ ।
ट्रम्पको उक्त चेतावनीपछि एएफपीसँग कुरा गर्दै राजदूत तौतुनजीले भने, “हामीलाई आशा छ कि यस क्षेत्रका देशहरूले सम्भावित त्रासदी हुनबाट रोक्न आफ्ना सबै क्षमता प्रयोग गर्नेछन् ।” अमेरिकी आक्रमणले यस क्षेत्रबाट हुने ऊर्जा (तेल) निर्यात पूर्ण रूपमा ठप्प हुन सक्ने चेतावनीसमेत उनले दिए ।
पछिल्लो एक महिनायता इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिहरूमाथि लक्षित गर्दै ड्रोन तथा मिसाइल आक्रमण गर्दै आएको छ । यस क्रममा विमानस्थल, तेल र ग्यास पूर्वाधार, बन्दरगाह, होटल र आवासीय क्षेत्रहरूसमेत प्रभावित भएका छन् ।
यद्यपि, राजदूत तौतुनजीले तेहरान यस क्षेत्रमा तनाव बढाउने पक्षमा नरहेको दाबी गर्दै अन्य देशले गरेका शान्तिका पहललाई इरानले समर्थन गर्ने बताए ।
यसैबीच, पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मोघदमले मध्यस्थताको प्रयास सकारात्मक दिशामा अघि बढेको संकेत गरेका छन् । मंगलबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले भनेका छन्, “युद्ध अन्त्यका लागि भइरहेको मध्यस्थता महत्त्वपूर्ण र संवेदनशील चरणमा पुगेको छ ।” उनले शान्तिका लागि भइरहेका पहलले युद्ध रोक्न मद्दत गरिरहेको बताए पनि थप विवरण भने खुलाएका छैनन् ।