त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका कबीरको अवस्था जटिल, सञ्जयको स्वास्थ्य सामान्य
काठमाडौँ, १९ भदौ । रसुवाको भोटेकोशी बाढीको ९ दिनपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको छ । दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको अस्पताल स्रोतले जनाएको छ ।
गम्भीर अवस्थामा रहेका महर्जनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ । उनको अहिले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । सुरुङभित्र लामो समयदेखि थुनिएका कारण उनको शरीरमा अक्सिजन र ऊर्जाको निकै कमी देखिएको चिकित्सकहरूले बताएका छन् ।
यसैबिच, पहिलो पटक उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको छ । उनको स्वास्थ्य स्थिति स्थिर भए पनि विस्तृत स्वास्थ्य परीक्षणका लागि उनलाई पनि छाउनीस्थित सैनिक अस्पतालमै ल्याउने तयारी भइरहेको छ ।
यही भदौ १० गतेको विनाशकारी बाढीपछि सुरुङभित्र मानिस फसेको आशङ्कामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विज्ञहरूसहित खोजी कार्य जारी राखेको थियो । शुक्रबार बिहान सुरुङ छिचोल्न सफल भएको उद्धार टोलीले उनीहरूलाई जीवितै फेला पारेको हो ।
विगत ९ दिनदेखि सुरुङभित्र थुनिएका श्रमिकहरूको जीवितै उद्धार हुनुलाई उद्धारकर्मीहरूले ठुलो सफलताका रूपमा लिएका छन् । सुरुङभित्र अझै अन्य व्यक्तिहरू हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै खोजी कार्यलाई निरन्तरता दिइएको सुरक्षा निकायले जनाएको छ ।