पाकिस्तानको मध्यस्थतामा इरान लचक : आक्रमण रोकिए २ हप्ताका लागि होर्मुज जलमार्ग खोल्ने घोषणा

एजेन्सी, २५ चैत । इरानले युद्धविरामको पहल गरेकामा पाकिस्तानप्रति आभार व्यक्त गर्दै सर्तसहित आफ्ना रक्षात्मक कारबाही रोक्ने महत्त्वपूर्ण घोषणा गरेको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत एक वक्तव्य जारी गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख (फिल्ड मार्सल) आसिम मुनीरलाई युद्ध अन्त्य गर्ने प्रयासका लागि धन्यवाद दिएका हुन् ।

विदेशमन्त्री अराघचीले इरानको ‘सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्’को तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्दै इरानमाथिका आक्रमण रोकिएमा प्रत्याक्रमण रोक्ने बताएका छन् ।

“यदि इरानमाथिका आक्रमणहरू रोकिए भने हाम्रो शक्तिशाली सेनाले आफ्नो रक्षात्मक कारबाही बन्द गर्नेछ,” अराघचीले भनेका छन्, “दुई हप्ताको अवधिका लागि होर्मुज जलमार्गबाट सुरक्षित आवागमन इरानी सेनासँगको समन्वय र प्राविधिक सीमाभित्र रहेर खुला गरिनेछ ।”

प्रधानमन्त्री शरीफको भाइचारापूर्ण अपिल, अमेरिकाले अघि सारेको १५ बुँदे वार्ता प्रस्ताव र राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको १० बुँदे प्रस्तावलाई वार्ताको आधार मान्न गरेको घोषणालाई ध्यानमा राख्दै इरान यो निष्कर्षमा पुगेको उनले प्रस्ट पारेका छन् ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शरीफले पनि युद्धविरामको वातावरण बनाएको भन्दै अमेरिका र इरान दुवैलाई धन्यवाद दिएका थिए । उनले आगामी अप्रिल १० तारिखमा अमेरिका र इरानका प्रतिनिधिहरूलाई वार्ताका लागि इस्लामाबादमा आमन्त्रण गरिएको जानकारीसमेत दिएका छन् ।