पहिरोले म्याग्दीका जलविद्युत् आयोजनामा २० मेगावाट उत्पादन ठप्प, आधा दर्जन आयोजनाको काम रोकियो

म्याग्दी, २ भदौ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरू गम्भीर रूपमा प्रभावित भएका छन्। प्राकृतिक विपद्का कारण हाल २० मेगावाट क्षमताका दुई वटा आयोजनाबाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ भने आधा दर्जन बढी आयोजनाको निर्माण कार्य सुस्त बनेको छ।

अन्नपूर्ण गाउँपालिका–६ मा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको उत्पादन गत साउन २६ गतेदेखि ठप्प छ। विद्युत्गृहमाथिबाट खसेको सुक्खा पहिरोले उपकरणहरू पुर्दा एक जना कामदारको ज्यान समेत गएको थियो। यस्तै, ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना पनि बाढीले बाँध क्षेत्रमा क्षति पुर्‍याएपछि गत असारदेखि नै बन्द अवस्थामा छ।

सडक मार्ग अवरुद्ध हुँदा निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी गर्न नसकिएपछि धवलागिरि गाउँपालिकामा निर्माणाधीन चार वटा ठुला आयोजनाहरूको काम प्रभावित भएको छ। प्रभावित हुने प्रमुख आयोजनाहरूमा- अपर म्याग्दी–१ (५३.५ मेगावाट), माथिल्लो म्याग्दी (३७ मेगावाट – ४६ मेगावाटमा स्तरोन्नति हुँदै), म्याग्दीखोला (६५ मेगावाट), मुदीखोला (१४ मेगावाट) र दरखोला (६.५ मेगावाट) छन् ।
यसैगरी, अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा निर्माणाधीन ९.१४ मेगावाटको सुपर घलेम्दी आयोजनाको निर्माण स्थल पनि यातायात सम्पर्कविच्छेदका कारण समस्यामा परेको छ।

अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार फापरखेत, बाङ्गेपहिरो र शिवरात्रि खोलाको बाढीका कारण असारदेखि नै सिमेन्ट र फलाम बोकेका गाडीहरू आयोजना स्थल पुग्न सकेका छैनन्। “मौजुदा सामग्रीले जसोतसो काम गरिरहेका छौँ, तर ढुवानी ठप्प हुँदा लक्ष्यअनुसार प्रगति हुन सकेको छैन,” केसीले भन्नुभयो।

म्याग्दीखोला जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीका अनुसार पहुँचमार्गमा पहिरो खस्ने र खोलाको सतह बढ्ने समस्याले गर्दा धेरै ठाउँमा डोजरको सहायताले सामान ढुवानी गर्ने गाडी तार्नुपर्ने बाध्यता छ।

शिवरात्रि खोलामा निर्माणाधीन मोटरेबल पुलको काम समयमै नसकिँदा बर्खामा सवारी साधन वारपार गर्न कठिन भएको छ। बेनी–दरबाङ र दरबाङ–मुना सडक खण्डका विभिन्न ठाउँमा खसेका पहिरोका कारण निर्माण सामग्री बाटोमै अलपत्र परेको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *