तुलसीपुरको इँटाभट्टामा पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु, एक गम्भीर घाइते

दाङ। २९ चैत्र । दाङको तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित एक इँटाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ । घटनामा अर्का एक मजदुर गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार बिहीबार स्थानीय ‘सेवा इँटाभट्टा’ को पर्खाल एक्कासि भत्किँदा च्यापिएर भारतको बहराइच जिल्ला घर भएका ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको हो ।

त्यसैगरी, पर्खालमा च्यापिएर सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते हुनुभएको छ । घाइते पासवानलाई दाङमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि बाँकेस्थित कोहलपुर शिक्षण अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।