भोटेकोशी बाढी: चुनौतीका बीच नेपाल प्रहरीको अहोरात्र खटाई, प्रविधि र वैज्ञानिक विधिको प्रयोग
काठमाडौँ, २१ भदौ । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको बहुआयामिक चुनौतीको सामना गर्न नेपाल प्रहरीले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेको छ । सीमित साधनस्रोतका बाबजुद प्रहरीले खोज, उद्धार, शव व्यवस्थापन र सुरक्षामा आधुनिक प्रविधिको समेत प्रयोग गरिरहेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा हाल ७ हजार ९१२ जना प्रहरी जनशक्ति परिचालित छन् । हालसम्म ६ हजार ८५३ जनाको जीवितै उद्धार गरिएको छ भने ५ हजार १५ जना अझै सम्पर्कविहीन छन् । प्रहरीले आफ्नै सङ्गठनका २५ जना सदस्यहरूलाई समेत यस विपद्मा गुमाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार जटिल भौगोलिक बनावट र भग्नावशेषभित्र बेपत्ताहरूको खोजी गर्न ड्रोन क्यामेरा र तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । ड्रोनकै सहयोगमा केही दिनअघि नुवाकोटको बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला पारिएको थियो । प्रहरीले हेडक्वार्टरमा ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ स्थापना गरी चौबीसै घण्टा अनुगमन गरिरहेको छ ।
फेला परेका शवहरूबाट सङ्क्रमण फैलिन नदिन प्रहरीले फरेन्सिक विज्ञहरूको सहयोगमा वैज्ञानिक व्यवस्थापन सुरु गरेको छ । पहिचान हुन नसकेका शव र मानव अङ्गहरूको सनाखतका लागि महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा ‘डीएनए प्रोफाइलिङ’को काम भइरहेको छ, जसले बेपत्ताका आफन्तलाई पहिचानमा सहयोग पुग्नेछ ।
विपद्को मौका छोपी हुन सक्ने लुटपाट, चोरी र सामाजिक सञ्जालमार्फत फैलिने अफवाह रोक्न प्रहरीले कडा निगरानी बढाएको छ । विस्थापितका खाली घरहरूको सुरक्षाका लागि गस्ती तीव्र पारिएको छ । साथै, ‘होल्डिङ सेन्टर’मा रहेका महिला र बालबालिकामाथि हुन सक्ने दुर्व्यवहार रोक्न महिला प्रहरी परिचालन गरी मनोपरामर्श र सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको छ ।