पोखरामा शनिबारदेखि पाँचौँ राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै : तयारी पूरा

काठमाडौँ, वैशाख ४ । पर्यटकीय राजधानी पोखरामा शनिबारदेखि ‘पाँचौँ मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ आयोजना हुने भएको छ । कास्की जिल्ला टेनिस सङ्घले आज पोखरामा पत्रकार सम्मेलन गरी वैशाख ८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा आयोजना हुने यस प्रतियोगितामा १६ वटा विभिन्न विधा (इभेन्ट) मा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता संयोजक लोकबहादुर गुरुङका अनुसार यु–८ देखि यु–१८ उमेर समूहका ‘ब्वाइज’ तथा ‘गर्ल्स’तर्फ सिङ्गल्स र डबल्स विधामा खेलहरू सञ्चालन गरिनेछन् । प्रतियोगितामा पोखरा, काठमाडौँ, चितवन र बुटवलका गरी कुल ९० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

सङ्घका कार्यवाहक अध्यक्ष नवीन चालिसेले प्रतियोगिताले तल्लो तहदेखि नै दक्ष टेनिस खेलाडी उत्पादन गर्न र खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिता सम्पन्न गर्न करिब तीन लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । विजेता खेलाडीहरूलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । यस प्रतियोगिताको नतिजाले खेलाडीहरूको राष्ट्रिय जुनियर वरियता (Ranking) सुधारमा समेत मद्दत पुग्ने सङ्घका सचिव भीष्मराज पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गर्नुभएको छ । उहाँले आफ्ना नातिनातिनीको नाममा विगत पाँच वर्षदेखि यस प्रतियोगितालाई निरन्तर सहयोग गर्दै आउनुभएको छ ।