स्तरोन्नतिका लागि फिलिम-लार्केपास पदमार्गमा पाँच दिन खच्चड आवतजावत बन्द
काठमाडौँ, वैशाख ८ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित फिलिम-लार्केपास पदमार्ग स्तरोन्नतिका लागि आजदेखि पाँच दिनसम्म खच्चड आवतजावतमा रोक लगाइएको छ । पदमार्गको महत्त्वपूर्ण खण्डमा मर्मत तथा निर्माण कार्य भइरहेकाले गाउँपालिकाले उक्त निर्णय गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार वडा नं ५ राना गाउँस्थित पदमार्गमा ढलान गर्ने तथा रेलिङ हाल्ने काम भइरहेकाले आवतजावत बन्द गर्नुपरेको हो । “वैशाख ८ गतेदेखि १२ गतेसम्म खच्चड हिँडाउन रोक लगाइएको छ,” उहाँले भन्नुभयो, “अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ भने निर्माण कार्य सम्पन्न हुनासाथ बाटो पुनः सुचारु गरिनेछ ।”
भौगोलिक विकटताका कारण चुमनुब्री गाउँपालिकामा खाद्यान्न, दैनिक उपभोग्य वस्तु र विकास निर्माणका सामग्री ढुवानीका लागि खच्चड नै मुख्य माध्यम रहँदै आएका छन् । ढुवानीको मुख्य मार्ग बन्द हुँदा केही समय समस्या देखिए पनि दीर्घकालीन सहजताका लागि पदमार्ग सुधारको कामलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सबै खच्चड व्यवसायी र स्थानीय बासिन्दालाई विकास निर्माणको काममा सहयोग गर्न र निर्धारित समयसम्म धैर्य गरिदिन समेत आग्रह गरेको छ ।