स्थानीय गाईको महिमा: दूध मात्र होइन, ओखती पनि बन्दै ‘पञ्चगव्य’

काठमाडौँ, वैशाख १२ । पुरानो सिनामङ्गलका स्थानीय बासिन्दा अमित ढुङ्गानाका लागि स्थानीय जातको गाईको गहुँत केवल धार्मिक वस्तु मात्र रहेन, यो उहाँका लागि ‘जीवनदान’ सावित भएको छ। आफ्नी धर्मपत्नीलाई क्यान्सर भएपछि आधुनिक चिकित्साका अनेकौँ ढोका ढकढक्याउनुभएका ढुङ्गानाले अन्ततः स्थानीय गाईको गहुँत सेवनबाटै उहाँलाई निको भएको सुखद अनुभव सुनाउनुभयो । अझ रोचक पक्ष त के छ भने, अमेरिकामा उपचार गराइरहनुभएका उहाँका एक मित्रका पितालाई पनि क्यान्सरले गाँजेपछि नेपाल ल्याएर गहुँतकै माध्यमबाट उपचार गरियो, र अहिले उहाँको स्वास्थ्यमा पनि उल्लेख्य सुधार देखिएको उहाँले जानकारी दिनुभयो ।

ढुङ्गानाको यो अनुभव कुनै संयोग मात्र नभई पुस्तौँदेखि चलिआएको ‘पञ्चगव्य चिकित्सा’ पद्धतिको एउटा सफल कडी हो । पछिल्लो समय ओझेलमा पर्दै गएको यस रैथाने उपचार पद्धतिको महत्त्वलाई पुनः उजागर गर्न हालै काठमाडौँमा ‘गौ संरक्षण अभियान’ द्वारा दुईदिने ‘पञ्चगव्यको महत्त्व एवं गौ विज्ञान कथा’ विषयक विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

के हो पञ्चगव्य 

स्थानीय जातका गाईबाट प्राप्त हुने पाँच वस्तुहरू – दूध, दही, घ्यू, गहुँत र गोबरको समिश्रण नै पञ्चगव्य हो  । आयुर्वेद र वैदिक दर्शनका ज्ञाताहरूले यसलाई शरीरको विषालु तत्व (टक्सिन) हटाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने अमृतका रूपमा व्याख्या गर्नुभएको छ ।

भारतको काञ्चीपुरम्स्थित सेवारत्न पञ्चगव्य विद्यापीठका गुरुकुलपति निरञ्जनकुमार वर्मा विगत २४ वर्षदेखि यसै क्षेत्रमा साधना र अभ्यास गरिरहनुभएको छ। उहाँ बताउनुहुन्छ, “स्थानीय जातका गौमाताबाट निरोग नेपाल बनाउन सकिन्छ । गाई धरतीकै माता हुनुहुन्छ र उहाँको पञ्चगव्यले मानव शरीरका मात्र होइन, माटो र प्रकृतिका विकारलाई समेत शुद्धीकरण गर्दछ ।”

विज्ञान र दर्शनको सङ्गम

वैदिक दर्शनले ८४ लाख योनीमध्ये गाईलाई मात्र विशेष र पूजनीय स्थान दिएको छ। तर, आधुनिक चिकित्साका जानकारहरू पनि यसको प्रभावकारितालाई नकार्न सक्नुहुन्न। गुरु गोरखनाथ फाउन्डेसनका अध्यक्ष डा. सुवेन्दु गुप्ता, जो स्वयं एक आधुनिक चिकित्सक हुनुहुन्छ, पञ्चगव्यलाई एकीकृत स्वास्थ्य सेवामा समावेश गर्नुपर्ने तर्क राख्नुहुन्छ। “३० वर्ष आधुनिक चिकित्सामा बिताएपछि म के निष्कर्षमा पुगेको छु भने, पञ्चगव्यलाई वैकल्पिक उपचारको सूचीमा राखेर प्रवर्द्धन गर्नु आजको आवश्यकता हो,” उहाँले आफ्नो विचार व्यक्त गर्नुभयो।

आर्थिक समृद्धिको आधार

स्थानीय गाईले कम दूध दिने भएकाले किसानहरू उन्नत जाततर्फ आकर्षित हुनुभएको पाइन्छ। तर, भारत सरकारका पूर्वसचिव डा. कमल टावरीका अनुसार स्थानीय गाई केवल दूधका लागि मात्र नभई ‘अर्थतन्त्र’ सुदृढ गर्नका लागि पनि पाल्नुपर्छ। गहुँत र गोबरबाट औषधि, साबुन, धूप र प्राङ्गारिक मल बनाएर ठूलो व्यवसाय गर्न सकिने र यसले युवाहरूलाई रोजगारी दिन सक्ने उहाँको दाबी छ।

“जडीबुटी र पञ्चगव्यलाई जोड्न सके नेपालका गाउँहरू स्वर्ग बन्न सक्छन्,” डा. टावरीले जोड दिनुभयो।

भान्साबाट हराएको ओखती

नेपाली भान्सा सुधार अभियानकी अध्यक्ष कविता दाहालका अनुसार हाम्रो परम्परागत भान्सा आफैँमा एउटा औषधालय थियो। “आमा र सासूआमाहरूले सिकाउनुभएको भान्सा परम्परामा पञ्चगव्य अभिन्न अङ्ग थियो। जब हामीले आफ्नो रैथाने खानपान छाड्यौँ, तब शरीर रोगको घर बन्न थाल्यो,” उहाँले चिन्ता व्यक्त गर्नुभयो।

वरिष्ठ पत्रकार प्रेम कैदीको विचारमा पनि यो एउटा विडम्बना हो । “रक्सी र चुरोटका लागि विज्ञापन आवश्यक पर्दैन, तर जीवन दिने अमृतजस्तो पञ्चगव्यका लागि हामीले प्रचार गर्नुपर्ने अवस्था छ,” उहाँले खिन्नता प्रकट गर्नुभयो ।

निष्कर्ष

गौ संरक्षण अभियानकी अध्यक्ष स्मृति राणा मल्ल र अभियानका प्रमुख प्रेम आर्यको एउटै महान् उद्देश्य छ – स्थानीय गाईको संरक्षण र पञ्चगव्य चिकित्सालाई पुनः स्थापित गर्नु, गाईको संरक्षण केवल धार्मिक आस्थाको विषय मात्र नभई, यो जनस्वास्थ्य, वातावरण संरक्षण र आर्थिक समृद्धिसँग जोडिएको गहिरो विज्ञान हो ।

जबसम्म गोठमा स्थानीय गाईको बास र भान्सामा पञ्चगव्यको प्रयोग हुँदैन, तबसम्म ‘निरोग नेपाल’ को सपना अधुरै रहन सक्छ । त्यसैले, आधुनिक उपचारका साथसाथै हाम्रा पुर्खाहरूले सुम्पिनुभएको यो प्राकृतिक उपचार विधिलाई विश्वव्यापीकरण गर्नु आजको मुख्य चुनौती र अवसर दुवै हो ।