एमआरपी स्टिकर नटाँसिएका चिनियाँ सामानको भन्सार जाँचपास रोकियो, रसुवागढीमा सयौँ ट्रक अलपत्र

रसुवा, १७ वैशाख । चीनबाट आयात गरिएका व्यावसायिक सामग्रीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गरिएको स्टिकर नभेटिएपछि रसुवा भन्सार कार्यालय (टिमुरे) ले जाँचपासमा रोक लगाएको छ।

नेपालको प्रचलित कानुनअनुसार विदेशमा उत्पादन भएका उपभोग्य वस्तु (खाद्य तथा गैरखाद्य) नेपाल भित्र्याउँदा उपभोक्ताको जानकारीका लागि प्रत्येक प्याकेटमा एमआरपी स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था छ। तर, आयातकर्ता व्यवसायीहरूले उक्त नियमको बेवास्ता गर्दै सामग्री ल्याएपछि भन्सार जाँचपास प्रक्रिया नै रोकिएको हो।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले उत्पादक कम्पनी वा आयातकर्ताले उपभोक्ता मूल्य नखुलाई सामान आयात गर्नु कानुनविपरीत भएकाले त्यस्ता सामग्रीको भन्सार मूल्याङ्कन र जाँचपास रोकिएको बताए। यद्यपि, उद्योग तथा जलविद्युत् आयोजनासँग सम्बन्धित मेसिनरी तथा निर्माण सामग्रीहरूको भने नियमित रूपमै जाँचपास भइरहेको उनले जानकारी दिए।

जाँचपास रोकिएसँगै एमआरपी स्टिकरबिना आयात गरिएका मालसामान बोकेका सयौँ मालवाहक ट्रकहरू हाल भन्सार कार्यालय परिसरमा रोकिएका छन्।

प्रमुख भन्सार अधिकृत भट्टराईले उपभोक्ता हित संरक्षणसम्बन्धी कानुनको पालना गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको स्मरण गराउँदै चीनबाट सामान आयात गर्दा प्याकेटमै अनिवार्य रूपमा एमआरपी खुलाएर मात्र ल्याउन व्यवसायीहरूलाई आग्रह गरेका छन्।

भन्सार कार्यालयले नियममा कडाइ गरेपछि आयात प्रक्रिया केही समय प्रभावित भए पनि यस कदमले बजारमा हुने कालोबजारी रोक्न र उपभोक्ताको अधिकार संरक्षण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।