त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘पूर्णस्तरको आपतकालीन उद्धार अभ्यास’ सम्पन्न

काठमाडौँ, वैशाख १७  ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सम्भावित विमान दुर्घटनालाई लक्षित गरी आज ‘पूर्णस्तरको आपतकालीन उद्धार अभ्यास’ सञ्चालन गरिएको छ। अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड तथा विमानस्थलको आपत्कालीन योजना अनुरूप प्रत्येक दुई वर्षमा गरिने नियमित प्रक्रिया अन्तर्गत यो अभ्यास गरिएको हो ।

विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार, विमान दुर्घटनाको काल्पनिक दृश्य सिर्जना गरी आगलागी नियन्त्रण, घाइतेको उद्धार, प्राथमिक उपचार र अस्पताल स्थानान्तरण जस्ता महत्त्वपूर्ण पक्षहरूको सफल अभ्यास गरिएको थियो । यस अभ्यासले विपद्का समयमा विभिन्न निकायहरूबीचको समन्वय, कार्यदक्षता र तत्परतामा सुधार ल्याउने विश्वास लिइएको छ ।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका साथै दमकल र एम्बुलेन्स टोलीको सक्रिय सहभागिता थियो। आकस्मिक अवस्थामा हुनसक्ने प्राविधिक तथा व्यवस्थापकीय कमजोरी पहिचान गरी सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन यो अभ्यास फलदायी हुने महाप्रबन्धक सिटौलाले बताउनुभयो ।