सावधान! बैंक खाताको पैसा उडाउन नयाँ फन्दा: साइबर ब्यूरोकै नाममा ठगी गर्ने ४ जना पक्राउ
काठमाडौँ, २२ वैशाख । पछिल्लो समय बैंक खाताबाट अनाधिकृत रूपमा रकम चोरी हुने र ठगीका घटनाहरू तीव्र रूपमा बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ। ब्यूरोले एक विज्ञप्ति जारी गर्दै अपराधीहरूले ठगीका लागि नयाँ–नयाँ शैली अपनाइरहेको भन्दै सचेत गराएको हो।
यसरी हुन्छ ठगी: ‘एकाउन्ट लक’ को भ्रम
साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीका अनुसार आपराधिक गिरोहले मोबाइल प्रयोगकर्ताहरूलाई लक्षित गरी ‘कनेक्ट आइपिएस’ (Connect IPS) जस्ता प्रचलित सेवाहरूसँग मिल्दोजुल्दो नाम प्रयोग गरेर सन्देश पठाउने गरेका छन्।
ती सन्देशमा “तपाईंको खाता लक गरिएको छ, पुनः सुचारु गर्न यो लिङ्कमा क्लिक गर्नुहोस्” भन्दै झुक्याइन्छ। प्रयोगकर्ताले उक्त शङ्कास्पद लिङ्कमा क्लिक गर्नासाथ उनीहरूको व्यक्तिगत र बैंकिङ विवरणहरू ह्याकरको पहुँचमा पुग्छ र क्षणभरमै बैंक खाताको रकम चोरी हुने गरेको पाइएको छ।
ब्यूरोले दिएका सुरक्षा सुझावहरू:
१. कुनै पनि अज्ञात नम्बरबाट आएका शङ्कास्पद लिङ्कहरूमा क्लिक नगर्ने।
२. बैंकिङ कारोबारका लागि सधैँ आधिकारिक ‘वेबसाइट’ वा ‘मोबाइल एप’ मात्र प्रयोग गर्ने।
३. आफ्नो ओटीपी (OTP), पासवर्ड वा अन्य गोप्य विवरण कसैसँग साझा नगर्ने।
४. शङ्कास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय, साइबर ब्यूरो वा सम्बन्धित बैंकमा खबर गर्ने।
साइबर ब्यूरोकै नाम दुरुपयोग गरी ठगी गर्ने ४ जना पक्राउ
यसैबीच, प्रहरीले साइबर ब्यूरोको नाम र पहिचान दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गर्ने एउटा गिरोहलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ३० वर्षीय दीपक लिम्बू (धनकुटा), २१ वर्षीय सौरव भुजेल (धरान), २८ वर्षीय सजल राई (धरान) र २४ वर्षीय सृजन थापा (इनरुवा) रहेका छन्।
ट्रूकलरमा ‘साइबर ब्यूरो’ देखाएर ठगी
यो गिरोहले निकै चलाखीपूर्ण तरिकाले ठगी गर्ने गरेको खुलेको छ। उनीहरूले आफ्नो मोबाइल नम्बरलाई ‘ट्रूकलर’ (Truecaller) एपमा ‘साइबर ब्यूरो’ को नाममा सेभ गरेका थिए। पीडितलाई फोन गर्दा ट्रूकलरमा ब्यूरोको नाम देखिने भएकाले मानिसहरू सजिलै विश्वासमा पर्ने र डर–त्रास तथा प्रलोभनमा परेर रकम पठाउने गरेको पाइएको छ।
इलाका प्रहरी कार्यालय धरानको सहयोगमा पक्राउ परेका उनीहरूलाई काठमाडौँ ल्याइएको छ। जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी उनीहरूमाथि ‘विद्युतीय माध्यम सम्बद्ध ठगी’ को कसुरमा विस्तृत अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिनुभयो।