सल्बलाउँदै नेपालमा भारतीय गाँजा तस्कर, १४८ किलो गाँजासहित भारतीय एम्बुलेन्स नियन्त्रण
विराटनगर, २३ वैशाख । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ। उक्त एम्बुलेन्ससहित त्यसमा सवार दुई जना भारतीय नागरिकलाई पनि पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, मङ्गलबार बराहक्षेत्र नगरपालिका–२ स्थित पुल्ठेगौँडाबाट (BR 07 PC 4765) नम्बरको भारतीय एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त परिणामको गाँजा बरामद भएको हो। एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा प्याक गरेर लुकाइएको अवस्थामा १४८ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले एम्बुलेन्स चालक भारतको बिहार राज्य, सुपोल जिल्ला (वीरपुर) का १८ वर्षीय धर्मेन्द्रकुमार यादव र सोही स्थानका २१ वर्षीय मोहमद सदामलाई पक्राउ गरिएको जानकारी दिए।
सुरक्षा निकायको आँखा छल्न एम्बुलेन्सको दुरुपयोग गरी ठुलो परिणामको गाँजा भारततर्फ कटाउन लागिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागुऔषध ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।