इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा १ करोडभन्दा बढी मानिस सहभागी हुने अपेक्षा, १०० देशका प्रतिनिधि तेहरानमा

 

तेहरान (एजेन्सी) । अमेरिका र इजरायलसँगको युद्धको क्रममा मारिएका इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्तिम संस्कारमा सहभागी हुन राजधानी तेहरानमा १ करोडभन्दा बढी मानिसहरूको जनसागर ओर्लिने अपेक्षा गरिएको छ। अन्त्येष्टि समारोहमा विश्वका १०० भन्दा बढी देशका प्रतिनिधिहरूले समेत सहभागिता जनाउने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।

इरानले आफ्ना सबैभन्दा लामो समयसम्म शासन गर्ने नेताको बिदाइका लागि राजकीय शोकका साथै विशेष अन्त्येष्टि समारोहको आयोजना गरिरहेको छ। खामेनीको साथमा उनका परिवारका केही सदस्यहरूको पनि सोही आक्रमणमा मृत्यु भएको थियो।

खामेनीको कार्यकाल र प्रभाव
सन् १९८९ मा इराक-इरान युद्धपछिको कठिन समयमा सर्वोच्च नेताको रूपमा कार्यभार सम्हालेका खामेनीले इरानको सशस्त्र बल, न्यायपालिका र सरकारी सञ्चारमाध्यममा पूर्ण नियन्त्रण कायम गरेका थिए। उनको नेतृत्वमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (IRGC) सुरक्षा, राजनीति र अर्थतन्त्रमा एक शक्तिशाली शक्तिको रूपमा स्थापित भयो।

आफ्नो शासनकालमा उनले इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई तीव्र रूपमा विस्तार गरे, जसलाई उनले अमेरिका, इजरायल र क्षेत्रीय प्रतिद्वन्द्वीहरू विरुद्धको एक मजबुत प्रतिरोधको रूपमा व्याख्या गर्थे। पश्चिमा देशहरूसँगको आणविक विवादका बीच पनि उनले इरानले आणविक हतियार नखोजेको तर युरेनियम संवर्धन गर्ने अधिकार सुरक्षित रहेको अडान लिइरहे।

क्षेत्रीय रणनीति र विरासत
खामेनीको क्षेत्रीय रणनीति मुख्यतया मित्र राष्ट्रहरू र सशस्त्र समूहहरूसँगको गठबन्धनमा आधारित थियो। यसले इरानको प्रभाव विस्तार गरे पनि खाडी मुलुकहरू, इजरायल र अमेरिकासँगको तनावलाई भने उत्कर्षमा पुर्‍याएको थियो। विश्लेषकहरूका अनुसार, उनको मृत्युले राज्यलाई कमजोर बनाउनुको सट्टा धेरै इरानीहरूका लागि एकता र राष्ट्रवादको नयाँ विन्दु  सिर्जना गरेको छ।

तेहरान ठप्प, सुरक्षा सतर्कता उच्च
तेहरानका गभर्नर मोहम्मद सादेघ मोतमेदियानका अनुसार अन्त्येष्टि समारोहलाई व्यवस्थित बनाउन शनिबारदेखि मंगलबारसम्म सम्पूर्ण तेहरान प्रान्त बन्द गरिएको छ। ‘इरान इन्टरनेशनल’का अनुसार सरकारले मंगलबार सार्वजनिक बिदा समेत घोषणा गरेको छ।

सरकारी प्रवक्ता फातेमेह मोहाजेरानीले सञ्चारमाध्यमहरूसँग कुरा गर्दै ‘सहिद नेता’ को अन्तिम बिदाइका लागि देशभरका लाखौँ मानिसहरूलाई सहजता प्रदान गर्न यस्तो निर्णय लिइएको बताइन्।

भावुक बने समर्थकहरू
अन्त्येष्टि समारोह सुरु हुनुभन्दा धेरै घण्टा अघिदेखि नै सर्वसाधारणहरू प्रार्थना स्थल (मुसल्ला) नजिक जम्मा भएका छन्। कतिपय मानिसहरू रातभर ढोका खुल्ने पर्खाइमा सडक किनारमै बसेका देखिन्छन्।

“हामी हाम्रा नेताप्रतिको प्रेमका कारण यहाँ आएका हौँ,” पर्खाइमा रहेकी सोमाय्येले भनिन्, “यो पर्खाइ निकै पीडादायी तर भावनात्मक रूपमा मिठो छ।”

त्यस्तै, विश्वविद्यालयका विद्यार्थीहरूले पनि खामेनीको सेवाको तुलनामा यो पर्खाइ केही नरहेको बताएका छन्। विद्यार्थी महदीले भने, “१०-१२ घण्टा पर्खनु हाम्रा लागि ठूलो कुरा होइन, यो हाम्रै परिवारको सदस्यको शोक सभामा सहभागी भएजस्तै हो।”

यस ऐतिहासिक अन्त्येष्टि समारोहलाई मध्यनजर गर्दै इरानभर सुरक्षा व्यवस्था निकै कडा पारिएको छ भने तेहरानमा मानिसहरूको व्यवस्थापनका लागि हजारौँ स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएको छ।