ढोरपाटन सिकार आरक्षमा पहिलोपटक हिउँचितुवा गणना सुरु : ५६ स्थानमा स्वचालित क्यामेरा जडान
काठमडाौँ, बैशाख २५ । नेपालको एकमात्र सिकार आरक्ष, ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पहिलोपटक हिउँचितुवाको वैज्ञानिक गणना सुरु गरिएको छ । आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवाको उपस्थिति रहे पनि हालसम्म यकिन सङ्ख्या गणना नभएको अवस्थामा अहिले ‘क्यामेरा ट्र्यापिङ’ प्रविधिमार्फत गणना प्रक्रिया अघि बढाइएको हो ।
आरक्ष कार्यालयका अनुसार १५ दिनको कठिन प्रयासपछि तीनवटा प्राविधिक टोलीले समुद्री सतहदेखि ३ हजार २०० मिटरदेखि ५ हजार ५०० मिटरको उचाइसम्म पुगेर ५६ वटा सेन्सरसहितका स्वचालित क्यामेरा जडान गरेका छन् ।
आरक्षका रेन्जर सागर सुवेदीका अनुसार यी क्यामेराहरू आरक्षका ६ वटा मुख्य सिकार ब्लकहरू (सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने) मा जडान गरिएका छन् । “हिउँचितुवाको सम्भावित बासस्थान, ओडार, जङ्गल र आवतजावत गर्ने बाटो पहिल्याएर क्यामेरा राखिएको छ,” सुवेदीले भन्नुभयो, “४५ दिनसम्म ती क्यामेराले कैद गर्ने तस्बिरका आधारमा चितुवाको सङ्ख्या र अवस्थाको विश्लेषण गरिनेछ ।”
क्यामेराको ब्याट्री र मेमोरी कार्ड परिवर्तन गर्न प्राविधिक टोली प्रत्येक १५ दिनमा पुनः सोही स्थानमा पुग्ने व्यवस्था मिलाइएको छ । हिउँले ढाकिएका उच्च भू-भाग र अप्ठ्यारा ओडारहरूमा बास बसेर १५ जना कर्मचारी तथा प्राविधिकको टोलीले क्यामेरा जडानको काम सम्पन्न गरेको हो । वैशाख ११ गतेदेखि सुरु गरिएको यो अभियानअन्तर्गत ४५ दिनपछि क्यामेराहरू सङ्कलन गरी कार्यालयमा ल्याएर फोटोका आधारमा शरीरको धब्बा (स्पट) मिलाई चितुवाको पहिचान गरिनेछ ।
हिउँचितुवा गणनाका लागि क्यामेरा ट्र्यापिङका अतिरिक्त अन्य वैज्ञानिक विधिहरू पनि अपनाइने भएको छ । जङ्गलमा भेटिने हिउँचितुवाको दिसा सङ्कलन गरी प्रयोगशाला परीक्षण गरिनेछ भने पदचिह्न (पाइला) र अन्य सङ्केतहरूको समेत सर्वेक्षण गरिने आरक्ष कार्यालयले जनाएको छ ।
बागलुङ, म्याग्दी र रुकुम जिल्लासम्म फैलिएको १ हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलको यस आरक्ष नाउर र झारलको वैधानिक सिकारका लागि विश्व प्रसिद्ध छ । यो गणनाले यस क्षेत्रमा पारिस्थितिकीय प्रणालीको माथिल्लो तहमा रहेको हिउँचितुवाको संरक्षण र व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।