मधेश प्रदेशसभा सदस्यमा राप्रपाद्वारा सरिताकुमारी ठाकुर सिफारिस
काठमाडौँ, वैशाख २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशसभामा रिक्त रहेको समानुपातिक सदस्य पदका लागि महोत्तरीकी सरिताकुमारी ठाकुरलाई सिफारिस गरेको छ ।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, यसअघि समानुपातिक सांसद रहेकी कञ्चन बिच्छालाई अनुशासन उल्लङ्घनको आरोपमा पदबाट फिर्ता बोलाइएपछि सो स्थान रिक्त भएको थियो । बिच्छाले आफ्नो पद बहालीका लागि अदालतमा रिट निवेदन दायर गरे पनि अदालतले उक्त निवेदन खारेज गरिदिएपछि उनी वैधानिक रूपमा पदमुक्त भएकी थिइन् ।
बिच्छा पदमुक्त भएसँगै रिक्त रहेको स्थान पूर्ति गर्न निर्वाचन आयोगबाट प्राप्त पत्रका आधारमा पार्टीले नयाँ सिफारिस गरेको हो । राप्रपाले ठाकुरलाई सोही ‘क्लस्टर’ (समूह) अन्तर्गतको समानुपातिक बन्दसूचीमा दोस्रो नम्बरमा रहेका कारण प्राथमिकताका आधारमा चयन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
संवैधानिक तथा कानुनी प्रक्रिया पूरा गरी प्रदेशसभा सदस्यको पदपूर्तिका लागि यो निर्णय गरिएको राप्रपाले जनाएको छ ।