नेप्सेमा ६.५१ अङ्कको गिरावट, ३ अर्ब माथिको कारोबार

काठमाडौँ, ५ जेठ । शेयर बजारमा नेप्से परिसूचक आज पनि गिरावट आएको छ । पछिल्ला केही दिनदेखि ओरालो लाग्ने क्रम जारी रहँदा नेप्से आज ६.५१ अङ्कले घटेर २ हजार ७२४ दशमलव ३९ को विन्दुमा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ६८ अङ्कले ओरालो लाग्दै ४६७ दशमलव ३७ मा सीमित भएको छ ।

आज कुल ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता शेयर किनबेच भएको छ । दिनभरि भएका ३ अर्ब ८ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँ बराबरको कारोबारले बजारमा अझै पनि लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको सङ्केत गरेको छ ।

आज कारोबार रकमका आधारमा सिटी होटल शीर्ष स्थानमा रह्यो । यसका साथै साहस ऊर्जा, आँखु खोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाई नेपाल लिमिटेड धेरै कारोबार हुने पाँच कम्पनीको सूचीमा परेका छन् ।

बजार घटे पनि कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल रिपब्लिक मिडिया, र दार्माखोला हाइड्रो इनर्जीका लगानीकर्ताहरूले नाफा कमाएका छन् । त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फन्ड र नेपाल एसबिआई बैंकको ऋणपत्रका लगानीकर्ताहरू पनि आज फाइदामा रहे ।
यता, सिटी होटलका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यसका साथै थ्री स्टार हाइड्रोपावर, प्रभु बैंकको ऋणपत्र २०८७, झापा इनर्जी र केबिए डिबेञ्चरका लगानीकर्ताहरूले पनि आज नोक्सानी बेहोरेका छन् ।

शेयर बजारमा निरन्तरको सामान्य गिरावटले लगानीकर्ताहरूमा केही अन्योल देखिए पनि कारोबार रकम भने ३ अर्ब माथि नै टिकेको छ ।