‘प्यालेस्टिनी जनताको पीडा महसुस नगर्ने मानिस हुनै सक्दैनन्’: इजिप्टका प्रशिक्षक होसाम हसन
काठमाडौं, २३ असार । विश्वकप फुटबल २०२६ को रौनक चलिरहँदा इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले गाजाका प्यालेस्टिनी जनताको अवस्थाप्रति विश्वको ध्यान आकर्षण गराएका छन्। अर्जेन्टिनासँगको ‘राउन्ड अफ १६’ को खेलअघि आयोजित पत्रकार सम्मेलनमा हसनले फुटबलका कुरा छाडेर प्यालेस्टिनी जनताको पक्षमा मर्मस्पर्शी मन्तव्य दिएका हुन्।
‘मानवीय संवेदनाको प्रश्न’
आफ्नो टोलीको आगामी रणनीतिका बारेमा बोल्नुअघि हसनले प्यालेस्टाइनको विषय उठाएका थिए। उनले भने, “संसारमा कोही त्यस्तो व्यक्ति छ जसले प्यालेस्टिनी जनताको पीडा महसुस गर्दैन भने, ऊ मानिस नै होइन— चाहे ऊ अरब होस्, युरोपेली होस् वा अमेरिकी।” करिब चार मिनेट लामो आफ्नो सम्बोधनका क्रममा उनले उपस्थित पत्रकारहरूको ताली र समर्थन समेत पाएका थिए।
यसअघि अस्ट्रेलियाविरुद्धको ऐतिहासिक जितपछि हसनले मैदानमा प्यालेस्टाइनको झण्डा फहराएका थिए। सोही विषयमा सोधिएको प्रश्नमा उनले भने, “त्यो एउटा स्वाभाविक मानवीय प्रतिक्रिया थियो। संसारमा कतै जनावरमाथि अन्याय हुँदा पशु अधिकारका कुरा उठ्छन् र विश्वले प्रतिक्रिया दिन्छ, तर आज मिसाइल प्रहारबाट दैनिक दुई–तीन हजार मानिस मर्नु सामान्य जस्तै भएको छ।”
गाजाको भयावह अवस्थाप्रति चिन्ता
प्रशिक्षक हसनले गाजामा जारी इजरायली आक्रमण र त्यहाँको मानवीय संकटबारे पनि बोलेका थिए। अक्टोबर ७ यता इजरायली आक्रमणमा परी ७३ हजार ६६ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ, जसमा २० हजारभन्दा बढी बालबालिका छन्। भोकमरीका कारण मात्रै ४६३ जनाको ज्यान गएको तथ्याङ्क उल्लेख गर्दै उनले फिफाको ‘सम्मान’ (Respect) को नारालाई जीवन जिउन पाउने अधिकारसँग जोड्न आग्रह गरे।
स्पेनका युवा स्टार लामिन यामल लगायतका खेलाडीले पनि प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाइरहेको सन्दर्भमा हसनको यो भनाइले विश्व खेलकुद जगतमा थप चर्चा पाएको छ।
अर्जेन्टिनासँगको भिडन्त: ‘हामी अन्डरडग होइनौँ’
विश्वकपको साविक विजेता अर्जेन्टिना र महान् खेलाडी लियोनेल मेस्सीसँगको खेलका बारेमा बोल्दै हसनले आफ्नो टोली डराएको छैन भन्ने प्रष्ट पारे। उनले इजिप्ट ७ हजार वर्षभन्दा पुरानो सभ्यता भएको भन्दै आफ्नो टोली कुनै पनि हिसाबले कमजोर नभएको दाबी गरे।
“हामी अर्जेन्टिनाको सम्मान गर्छौँ, तर हामी डराएका छैनौँ। हाम्रा सपना र महत्वाकाङ्क्षाहरू असीमित छन्,” उनले भने। अर्जेन्टिनालाई पराजित गरेमा इजिप्ट पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुग्नेछ।
प्रशिक्षक हसनले आफूहरूले मैदानमा केवल इजिप्टको मात्र नभई सम्पूर्ण अरब र अफ्रिकी महाद्वीपको प्रतिनिधित्व गरिरहेको र समर्थकहरूको अपेक्षा पूरा गर्न मैदानमा सबै शक्ति लगाउने वाचा समेत गरे। (स्रोतः अन्तराष्ट्रिय न्यूज ऐजन्सी, अल्जाजीरा)