आर्थिक गणनामा पर्साका ठूला उद्योगको आलटाल, तथ्याङ्क सङ्कलनमा समस्या
वीरगन्ज, ६ जेठ । पर्सामा जारी आर्थिक गणनाका क्रममा ठूला औद्योगिक प्रतिष्ठानहरूले आवश्यक तथ्याङ्क उपलब्ध गराउन आलटाल गरेको पाइएको छ । तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले उद्योगीहरूको असहयोगका कारण गणना कार्य प्रभावित भएको जनाएको हो ।
कार्यालयका प्रमुख पुष्कर बिजुक्छेँले गणकहरू आधिकारिक पत्रसहित पुग्दा समेत ठूला उद्योगहरूले विवरण दिन अस्वीकार गरिरहेको बताउनुभयो । “हामीले गणकहरूलाई खटाएका छौँ, तर ठूला औद्योगिक प्रतिष्ठानबाट तथ्याङ्क पाउन निकै समस्या भइरहेको छ,” उहाँले भन्नुभयो, “यही जेठ ७ गते बस्ने समीक्षा बैठकमा विवरण उपलब्ध नगराउने उद्योगहरूको सूचीमाथि छलफल गर्ने तयारी गरेका छौँ ।”
यता, वीरगन्ज उद्योग वाणिज्य सङ्घले भने उद्योगीहरू तथ्याङ्क दिन तयार रहेको तर सरकारी कार्यालयले आवश्यक समन्वय नगरेको दाबी गरेको छ । सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले भन्नुभयो, “कुन–कुन उद्योगले तथ्याङ्क दिएनन् भन्नेबारे कार्यालयले हामीलाई जानकारी दिएको छैन । कार्यालयले अनुरोध गरेमा हामी पत्र लेखेरै भए पनि उद्योगहरूलाई समन्वय गर्न र गणनामा सहभागी हुन आग्रह गर्न तयार छौँ ।”
तथ्याङ्क समन्वय कार्यालयका अनुसार पर्सा जिल्लाभरि २३ हजार ३०० प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखिएको छ । सोमबारसम्म १४ हजार १५६ वटा प्रतिष्ठानको गणना सम्पन्न भएको छ, जुन कुल लक्ष्यको झन्डै ६० प्रतिशत हो ।
गणना कार्यलाई तीव्रता दिन अहिले जिल्लाभर ६६ जना गणक र ९ जना सुपरीवेक्षक परिचालन गरिएको कार्यालयले जनाएको छ । राज्यको आर्थिक नीति निर्माणका लागि महत्वपूर्ण मानिने यो गणनामा उद्योगीहरूको सक्रिय सहभागिता हुनुपर्नेमा कार्यालयले जोड दिएको छ ।