बाजुरा र हुम्लाको सीमा विवादमा झडप: ६ जना घाइते, ४ को हेलिकप्टरबाट उद्धार

बाजुरा, ६ जेठ । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिकाबीचको सीमा विवादले उग्र रूप लिँदा भएको झडपमा ६ जना घाइते भएका छन्। हिमाली गाउँपालिका–३ रानीसैनमा भएको उक्त आक्रमणमा परी गम्भीर घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको समयमा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका बासिन्दाले आक्रमण गरेका थिए। आक्रमणमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर, नरबहादुर गुरुङ र प्रहरी सहायक हवल्दार महेश धामी घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार घाइतेमध्ये चार जनाको अवस्था जटिल भएकाले उनीहरूलाई तत्काल उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले गाउँपालिकाकै खर्चमा निजी कम्पनीको हेलिकप्टर चार्टर गरी घाइतेको उद्धार गरिएको जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार सीमा विवादका कारण एक्कासि भएको आक्रमणले स्थिति तनावपूर्ण बनेको थियो। लामो समयदेखि रानीसैन क्षेत्रमा बाजुरा र हुम्लाबीच सीमा विवाद रहँदै आएको छ। हाल उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।