अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा पोखरा : २२ अर्बको लगानी तर चार्टरमै सीमित
गण्डकी, ६ जेठ । झण्डै २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे तीन वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। सन् २०२३ को जनवरी १ मा तामझामका साथ उद्घाटन गरिएको यो विमानस्थल हालसम्म आन्तरिक उडान र फाट्टफुट्ट ‘चार्टर’ उडानमा मात्रै सीमित छ।
निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले सन् २०२५ को मार्चदेखि पोखरा–ल्हासा व्यावसायिक उडान सुरु गरे पनि त्यो लामो समय टिक्न सकेन। यात्रु सङ्ख्या न्यून भएको भन्दै गत मार्च २३ देखि उक्त सेवा पनि बन्द भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। “अहिले पोखराबाट नियमित रूपमा कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन,” उहाँले भन्नुभयो।
यसैबीच, मङ्गलबार पोखराबाट भारततर्फ पहिलो पटक ‘मेडिकल चार्टर’ उडान भएको छ। मुक्तिनाथ दर्शनका क्रममा बिरामी पर्नुभएका भारतको भोपालका शम्भु दयाल श्रीवास्तवलाई श्री एयरलाइन्सको जहाजमार्फत भारत पठाइएको हो। भारतका केन्द्रीय मन्त्री एवं मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहानको समन्वयमा यो उडान सम्भव भएको हो।
विमानस्थल प्रशासनले यस उडानलाई कूटनीतिक दृष्टिकोणले महत्त्वपूर्ण मानेको छ। महाप्रबन्धक निरौलाका अनुसार यसले भारतका विभिन्न सहरमा नियमित उडानका लागि अनुमति लिन र आवश्यक कूटनीतिक पहल थाल्न नेपाल सरकारलाई सहज वातावरण बनाउनेछ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिए पनि अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिन नसक्दा पर्यटन व्यवसायीहरू निराश छन्। पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले सङ्घीय सरकारले कूटनीतिक पहल नगरे अर्बौँको लगानी जोखिममा पर्ने बताउनुभयो। “भारतसँग सीधा हवाई मार्गमा पोखरालाई जोड्न सके मात्रै विमानस्थलको औचित्य पुष्टि हुन्छ,” उहाँले भन्नुभयो।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार विमानस्थलकै आशामा पोखराको पर्यटन क्षेत्रमा झण्डै एक खर्ब रुपैयाँ थप लगानी भएको छ। पोखराको समग्र पर्यटन क्षेत्रमा ६ खर्बको लगानी रहेको अनुमान छ। “विमानस्थल उद्घाटन भएको यति समयसम्म नियमित उडान नहुनु विडम्बना हो,” श्रेष्ठले गुनासो गर्नुभयो।
आन्तरिक उडान र रात्रिकालीन उडानमा उल्लेख्य प्रगति भए पनि अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थल घाटामा छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी वायुसेवा कम्पनीलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने उल्लेख गरेको छ।
व्यवसायीहरूले भने राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सबाटै भए पनि तत्काल नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेर बजारको विश्वास जित्नुपर्नेमा जोड दिएका छन्।