कान्सका मेयरलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोलको निमन्त्रणा
काठमाडौँ, जेठ ६ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डलाई ‘काठमाडौँ चलचित्र महोत्सव’मा सहभागी हुन औपचारिक निमन्त्रणा दिनुभएको छ ।
७९ औँ कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुग्नुभएकी कार्यवाहक प्रमुख डंगोललाई मेयर लिसनार्डले कान्सको सिटी हलमा भव्य स्वागत गर्नुभएको थियो। सो अवसरमा कार्यवाहक प्रमुख डंगोलले नेवार समुदायको परम्परागत पोशाक ‘हाकुपटासी’ लगाएर काठमाडौँको मौलिक पहिचान र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुभएको थियो ।
भेटवार्ताका क्रममा दुई प्रमुखबीच युनेस्कोको ‘क्रिएटिभ सिटी’ (चलचित्र विधा) का सदस्य सहरहरूले सञ्चालन गरिरहेका रचनात्मक कार्यक्रम र आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल भएको थियो। कार्यवाहक प्रमुख डंगोलले काठमाडौँमा आयोजना हुन लागेको चलचित्र महोत्सवका बारेमा जानकारी गराउँदै मेयर लिसनार्डलाई सहभागिताका लागि अनुरोध गर्नुभएको हो ।
जवाफमा मेयर लिसनार्डले काठमाडौँ चलचित्र महोत्सवको सफलताका लागि आवश्यक प्राविधिक तथा अन्य सहयोग गर्न आफू र कान्स नगर तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
छलफलमा चलचित्रलाई माध्यम बनाएर गीत, सङ्गीत, साहित्य, फेसन र खानपान जस्ता कला एवं शिल्पलाई उद्योगका रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा अनुभव आदानप्रदान गरिएको थियो । साथै, यस्ता कार्यक्रममा स्थानीय समुदाय, प्राज्ञिक क्षेत्र र पेसाकर्मीहरूको सहभागिता जुटाउने विषयमा पनि कुराकानी भएको थियो ।
उक्त भेटघाटमा मोरक्कोको ओउरजाजाते नगरका मेयर सैद अफ्रोखको समेत उपस्थिति रहेको थियो। स्मरणीय छ, काठमाडौँ र कान्स दुवै सहर युनेस्कोको ‘क्रिएटिभ सिटीज नेटवर्क’ अन्तर्गत चलचित्र विधाका सदस्य सहरहरू हुन् । कार्यवाहक प्रमुख डंगोलको यस भ्रमणले दुई सहरबीचको सांस्कृतिक र पर्यटकीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।