गोङ्गबुको गेष्ट हाउसबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
काठमाडौँ, ९ जेठ । काठमाडौँको गोङ्गबुस्थित एक गेष्ट हाउसबाट प्रहरीले ४५ राउण्ड गोली र हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। टोखा नगरपालिका–९ स्थित काबेली गेष्ट हाउसमा छापा मार्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सप्तरीको राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सोही ठाउँ घर भई हाल काठमाडौँको नरेफाँट बस्ने २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार, विशेष सूचनाका आधारमा गेष्ट हाउसमा जाँच गर्दा उनीहरूको साथबाट एसएलआर हतियारमा प्रयोग हुने एक थान म्याग्जिन र ४५ राउण्ड गोली बरामद भएको छ। साथै, उनीहरूको साथबाट एक थान मेटलको नक (पन्च) समेत फेला परेको छ।
“गेष्ट हाउसमा शङ्कास्पद रूपमा बसिरहेका उनीहरूलाई खानतलासी गर्दा प्रतिबन्धित हतियारका सामग्री फेला परेपछि नियन्त्रणमा लिइएको हो,” प्रवक्ता भट्टराईले भन्नुभयो।
प्रहरीले उनीहरूले यति ठूलो परिमाणमा गोली र म्याग्जिन कहाँबाट ल्याएका हुन् र यसको प्रयोग कुन उद्देश्यका लागि गर्न लागिएको थियो भन्नेबारे सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा राखेर थप कानुनी प्रक्रिया अघि बढाइएको छ।