व्हाइट हाउस बाहिर सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारीको मृत्यु, राष्ट्रपति ट्रम्प सुरक्षित

 

वासिङ्टन डीसी, १० जेष्ठ ।  अमेरिकी राष्ट्रपतिको निवास व्हाइट हाउस नजिकैको सुरक्षा चेकपोइन्टमा गोली प्रहार गर्ने एक बन्दुकधारीलाई ‘सेक्रेट सर्भिस’का एजेन्टहरूले गोली हानी मारेका छन्। शनिबार साँझ भएको यस हिंस्रक झडपमा एक सर्वसाधारण (बटुवा) समेत घाइते भएका छन्।

घटनाको विवरण
शनिबार साँझ ६ बजेपछि वासिङ्टन डीसीस्थित १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यूको चोकमा रहेको सेक्रेट सर्भिस चेकपोइन्टमा एक संदिग्ध व्यक्ति आइपुगेका थिए। सेक्रेट सर्भिसका अनुसार, ती व्यक्तिले आफ्नो झोलामा लुकाएको हतियार निकाली अचानक सुरक्षाकर्मीमाथि गोली प्रहार गर्न थालेका थिए।

जवाफी कारबाहीमा सुरक्षा एजेन्टहरूले चलाएको गोली लागेर संदिग्ध घाइते भएका थिए। उनलाई तत्काल अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको आधिकारिक विज्ञप्तिमा जनाइएको छ। घटनामा एक बटुवालाई पनि गोली लागेको छ, तर उनलाई संदिग्धको गोली लागेको हो वा सुरक्षाकर्मीको भन्नेबारे अनुसन्धान भइरहेको छ।

राष्ट्रपति ट्रम्प र ह्वाइट हाउसको अवस्था
गोलीकाण्ड हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्प व्हाइट हाउसभित्रै हुनुहुन्थ्यो। घटना लगत्तै ह्वाइट हाउसलाई पूर्ण रूपमा ‘लकडाउन’ गरिएको थियो। सेक्रेट सर्भिसका अनुसार राष्ट्रपति पूर्ण रूपमा सुरक्षित हुनुहुन्छ र कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन्।

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन च्युङले सामाजिक सञ्जाल एक्स (X) मा लेख्दै राष्ट्रपति ट्रम्प काममा व्यस्त रहेको र उहाँ विचलित नभएको संकेत दिनुभएको छ।

३० राउण्डभन्दा बढी गोली चलेको दाबी
घटनास्थलमा रहेकी अल जजिराकी संवाददाता किम्बर्ली हाल्केटका अनुसार, व्हाइट हाउसको उत्तरी लन (North Lawn) बाट ३० राउण्डभन्दा बढी गोली चलेको आवाज सुनिएको थियो। घटनाका बेला लनमा रहेका पत्रकारहरूलाई तत्काल दौडेर ब्रिफिङ रुमभित्र जान र सुरक्षित स्थानमा बस्न आदेश दिइएको थियो।

रिपोर्टका अनुसार, मारिएका संदिग्ध व्यक्तिलाई पहिले नै त्यस क्षेत्रमा नआउन ‘स्टे-अवे अर्डर’ (प्रतिबन्धित आदेश) जारी गरिएको थियो। उक्त आदेश उल्लंघन गर्दै उनी चेकपोइन्टमा पुगेर आक्रमणमा उत्रिएका थिए।

उच्च अधिकारीहरूको प्रतिक्रिया
अमेरिकी संघीय अनुसन्धान ब्यूरो (FBI) का निर्देशक काश पटेलले आफ्नो टोली घटनास्थलमा पुगेको र सेक्रेट सर्भिसलाई अनुसन्धानमा सहयोग गरिरहेको बताउनुभएको छ। यस्तै, हाउस मेजोरिटी लीडर स्टिभ स्कालिसले घटनाप्रति चिन्ता व्यक्त गर्दै “हामी खतरनाक समयमा बाँचिरहेका छौँ” भनी टिप्पणी गर्नुभएको छ।

दोहोरिँदो आक्रमणको प्रयास
यो घटना गत अप्रिल २५ मा व्हाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसनको डिनर कार्यक्रमका क्रममा ट्रम्पमाथि भएको हत्या प्रयासको प्रयास भएको एक महिना नपुग्दै घटेको हो। पछिल्लो समय अमेरिकी राष्ट्रपतिलाई लक्षित गरी हुने यस्ता सुरक्षा उल्लंघनका घटनाहरूले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको विश्लेषण गरिएको छ।

हालसम्म मारिएका व्यक्तिको पहिचान र उनको उद्देश्यबारे केही खुलाइएको छैन। सेक्रेट सर्भिस र एफबीआईले यसबारे विस्तृत अनुसन्धान गरिरहेका छन्।