ओखलढुङ्गा-रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिँदै : ३० करोडको बजेट विनियोजन

काठमाडौँ, साउन २७ । ओखलढुङ्गाको सदरमुकाम रमाइलोडाँडादेखि पर्यटकीय क्षेत्र रुम्जाटार जोड्ने सडकखण्ड नौ वर्षपछि पुनः कालोपत्र हुने भएको छ । कोशी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले रमाइलोडाँडादेखि सानीटारसम्मको ६.५ किलोमिटर सडक स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र (टेन्डर) आह्वान गरेको हो ।

अस्फाल्ड प्रविधिबाट निर्माण गरिने
पूर्वाधार विकास कार्यालयका प्रमुख सुरेशप्रसाद साहका अनुसार यसपटक ४० एमएम मोटाइको ‘अस्फाल्ड कङ्क्रिट’ प्रविधि प्रयोग गरी सडकलाई मजबुत बनाइनेछ । ३० करोड रुपैयाँको अनुमानित लागतमा सञ्चालन हुने यस आयोजना अन्तर्गत सडकको पुरानो जीर्ण कालोपत्र उप्काएर नयाँ संरचना बनाइनेछ । यसका साथै नाली (ड्रेन), मेसिनरी वाल, ग्याबिन वाल, लङ वाल र कल्भर्ट निर्माणलाई पनि आयोजनामा समावेश गरिएको छ ।

कार्यालयले एक महिनाभित्र बोलपत्रको प्रक्रिया टुङ्ग्याएर दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ । सानीटारदेखि रुम्जाटारसम्मको बाँकी ४.१ किलोमिटर खण्डको काम भने तत्कालका लागि प्रक्रियामा नरहेको बताइएको छ ।

विगतको तीतो अनुभव र जनगुनासो
यसअघि २०७४ सालमा एसियाली विकास बैंक र स्वीस सरकारको २० करोड ६८ लाख रुपैयाँ अनुदानमा आपत्कालीन भूकम्पीय सहयोग परियोजना अन्तर्गत यस सडकमा ‘डिबीएसटी’ कालोपत्र गरिएको थियो । तर, गुणस्तरहीन कामका कारण ११.१ किलोमिटरको उक्त सडक निर्माण सम्पन्न भएको ९ महिनामै उप्किन थालेको थियो । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत भएको सो कार्य कमजोर भएको भन्दै व्यापक जनगुनासो आएको थियो ।

स्थानीयमा सहज यात्राको आशा
पछिल्लो समय सडकमा ठूला खाल्डाखुल्डी पर्ने, हिलो र पानी जम्ने समस्याले गर्दा स्थानीय नागरिकले ठूलो सास्ती खेप्दै आएका थिए । ओखलढुङ्गा जिल्ला अस्पताल र रुम्जाटार विमानस्थल समेत सोही मार्गमा पर्ने भएकाले यो सडक जिल्लाकै लाइफलाइन मानिन्छ । लामो समयको पर्खाइपछि प्रदेश सरकारले बजेट व्यवस्थापन गरी पुन: कालोपत्रको प्रक्रिया अघि बढाएपछि स्थानीय बासिन्दामा सुरक्षित र सहज यात्राको आशा पलाएको छ ।