टोलटोलमा ‘गथाँमुग’को रौनक: राक्षसलाई साँझपख बस्ती बाहिर लगेर जलाइयो

काठमाडाैं, २६ साउन । नेवा: समुदायले उपत्यकामा मङ्गलवार परम्परागत विधिअनुसार ‘गथाँमुग चह्रे’ अर्थात् घण्टाकर्ण चतुर्दशी पर्व उत्साहका साथ मनाएका छन्। काठमाडाैं, ललितपुर र भक्तपुरका विभिन्न टोल, दोबाटो र चौबाटोमा ठड्याइएका तीन खुट्टे राक्षस घण्टाकर्णका पुतलालाई साँझपख बस्ती बाहिर लगेर जलाइएको हाे ।

श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा नर्कट, निगालो र छ्वालीबाट निर्मित घण्टाकर्णको पुतलालाई साँझ परेपछि स्थानीयले बाजागाजासहित घिसार्दै बस्ती बाहिर पुर्‍याएका थिए। यसक्रममा राक्षसलाई अश्लील गाली गर्ने र नकारात्मक ऊर्जालाई धपाउने परम्परा अनुसार चर्को स्वरमा नाराबाजी गरिएको थियो। बस्ती बाहिर पुर्‍याइएको पुतलालाई जलाएसँगै घरभित्रका भूत, प्रेत र रोगव्याधि भाग्ने जनविश्वास रहेको छ।

नेवारी भाषामा ‘ग’ को अर्थ गाराे, ‘थाँ’ को अर्थ स्तम्भ र ‘मुग’ को अर्थ बलियो भन्ने बुझिन्छ। तसर्थ, यो पर्व आफ्नो घर र टोललाई शत्रु तथा अदृश्य शक्तिबाट सुरक्षित र बलियो बनाउने प्रतिकका रूपमा मनाइन्छ। रोपाइँ सकिएपछि घरका अँध्यारा कुनाका फोहोर सफा गरी ‘गथाँमुग चह्रे’ अर्थात् घण्टाकर्ण चतुर्दशी पर्व मनाइने भएकाले यसलाई सरसफाइको पर्वको रूपमा पनि लिइन्छ।

पौराणिक लोककथानुसार परापूर्वकालमा समाजमा मानिसहरूलाई दुःख दिने र ईश्वरको नाम सुन्न नचाहने ‘घण्टासुर’ (घण्टाकर्ण) नामको नरभक्षी राक्षस थियो। धार्मिक प्रवचन र प्रार्थना सुन्नु नपरोस् भनी उसले आफ्ना दुवै कानमा ठूला घण्टाहरू झुण्ड्याएको थियो। आहाराको खोजीमा निस्किएको सो राक्षसलाई गाउँलेहरूको हितका लागि एक तान्त्रिकले भ्यागुतोको रूप लिई हिलो र धाप भएको दलदलतर्फ डोर्‍याएका थिए। दलदलमा फसेको सो राक्षसलाई गाउँलेहरूले ढुङ्गाले हानेर मारेको लोकविश्वास छ। सोही लोककथाका आधारमा प्रत्येक वर्ष यो पर्व मनाउने गरिन्छ।

तान्त्रिक मान्यताअनुसार गत वैशाखको अक्षय तृतीयाका दिन रोपाइँ तथा कृषिकार्य सहज बनाउन आह्वान गरिएका अदृश्य शक्ति तथा भूतप्रेतहरूलाई आजैका दिन तन्त्रोक्त विधिद्वारा ससम्मान बिदा गरिने जनविश्वास छ।

यस पर्वका दिन बिहानै घर सफासुग्घर गरी पूजापाठ गरिन्छ। दिउँसो हरियो नर्कट, निगालो वा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको प्रतीकात्मक पुत्ला बनाई दोबाटो र चौबाटोहरूमा ठड्याइन्छ। साँझपख राँको बाली उक्त पुत्लालाई घिसार्दै नजिकैको नदी वा खोला किनारमा लगेर जलाउने गरिन्छ।

घण्टाकर्णको पुत्ला सेलाएपछि घरको मुख्य ढोकामा भूतप्रेत प्रवेश नगरून् भनी फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोक्ने र हातमा फलाम, पित्तल वा तामाका औँठी लगाउने चलन छ। भक्तपुरमा भने मल्लकालीन परम्पराअनुसार चौबाटोहरूमा हाँडीमा दही–च्युरा र सम्यबजी राखेर भूतप्रेत मन्छाउने विशिष्ट परम्परा समेत रहँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *