कोलम्बियामा गएकाे ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १६९ पुग्याे
एजेन्सी, २७ साउन । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तीमा १६९ जनाको मृत्यु भएको छ । ७.४ म्याग्निच्युडको विनाशकारी भूकम्पका कारण ठूलो सङ्ख्यामा भौतिक संरचनाहरू ध्वस्त भएका छन् भने धेरै मानिसहरू भग्नावशेषमा पुरिएको आशङ्का गरिएको छ ।
कोलम्बियाको भूवैज्ञानिक सेवाका अनुसार भूकम्पको केन्द्रविन्दु चोको प्रान्तको जमिनबाट करिब १०३ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको धक्का कोलम्बियाको पश्चिमी क्षेत्रका सयौँ किलोमिटरसम्म महसुस गरिएको थियो । यसको प्रभाव छिमेकी मुलुकहरू भेनेजुएला, इक्वेडर र पानामामा समेत परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्र कफी उत्पादनका लागि प्रसिद्ध परेरा सहर र त्यस वरपरको इलाका भएको छ ।
परेरा सहरमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ६५ वटा भवनहरू पूर्ण रूपमा ढलेका छन् । काली सहरमा ३२ वटा भवनहरू भत्किएका छन् भने एउटा अस्पतालको भवनमा समेत गम्भीर क्षति पुगेको छ । यस्तै, भाले डेल काउका क्षेत्रमा पनि भूकम्पले व्यापक विनाश निम्त्याएको छ ।
भूकम्पपछिको गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै कोलम्बियाली सरकारले देशभर संकटकाल घोषणा गरेको छ । भत्किएका संरचनाहरूमा चेपिएका मानिसहरूलाई जीवितै उद्धार गर्न सुरक्षा निकाय र उद्धारकर्ताहरूको टोली निरन्तर खटिरहेको छ । अधिकारीहरूका अनुसार मलबेभित्र अझै धेरै मानिसहरू फसेका हुन सक्ने भएकाले मृतक र घाइतेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । हाल प्रभावित क्षेत्रहरूमा पाल, खाद्यान्न र औषधि पुर्याउने कार्यलाई तीव्रता दिइएको छ ।