सुदूरपश्चिममा रसायनिक मलको अभाव : माग उच्च, आपूर्ति न्यून
काठमाडौँ, साउन २७ । सुदूरपश्चिम प्रदेशमा धान खेतीको मुख्य सिजनमा रासायनिक मलको चरम अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका अनुसार मागको तुलनामा आपूर्ति न्यून हुँदा किसानहरू समस्यामा परेका हुन् ।
कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन १ देखि २६ गतेसम्म एक हजार २८७.७ मेट्रिक टन युरिया, २९५.७ मेट्रिक टन डिएपी र ३३.२५ मेट्रिक टन पोटास बिक्री भएको छ । तर, यो परिमाण किसानको वास्तविक माग पूर्ति गर्न पर्याप्त छैन ।
कोटा र मौज्दातको अवस्था
धनगढी कार्यालयका लागि युरियाको कुल कोटा एक हजार ९४७.७०५ मेट्रिक टन र डिएपीको कोटा एक हजार ९१५.८१५ मेट्रिक टन निर्धारण गरिएको छ । हालसम्मको बिक्री र बाँकी रहेको मौज्दात (युरिया ११०.२५० र डिएपी ३१ मेट्रिक टन) जोड्दा युरियातर्फ ७२ प्रतिशत मात्र आपूर्ति भएको देखिन्छ भने डिएपीतर्फको अवस्था झनै नाजुक छ ।
डिएपी मलको कुल कोटाको तुलनामा हालसम्म १७ प्रतिशत मात्र आपूर्ति भएको छ । कम्पनीको विवरण अनुसार अहिले युरिया ५४९.७५५ र डिएपी एक हजार ५८९.११५ मेट्रिक टन न्यून रहेको छ ।
किसानलाई सास्ती
प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीका अनुसार सहकारी तथा विभिन्न बिक्री केन्द्रमार्फत मल वितरण भइरहे पनि आवश्यक परिमाणमा मल उपलब्ध नहुँदा किसानलाई पुर्याउन कठिन भएको छ । धान गोड्ने र मल हाल्ने समयमा डिएपीको आपूर्ति करिब ८३ प्रतिशतले कमी भएपछि सुदूरपश्चिमका किसानहरू चिन्तित बनेका छन् ।
कम्पनीमा हाल ९३.६५० मेट्रिक टन पोटास भने मौज्दात रहेको जनाइएको छ । डिएपीको चरम अभावले गर्दा उत्पादनमा समेत ह्रास आउन सक्ने भन्दै किसानहरूले तत्काल मलको व्यवस्था गर्न माग गरेका छन् ।