अमेरिका–इरान शान्ति वार्ताको सङ्केत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ५ प्रतिशतले घट्यो
एजेन्सी, ११ जेठ । अमेरिका र इरानबीच जारी तनाव मत्थर भई शान्ति वार्ता अघि बढ्ने सङ्केत मिलेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। सोमबार नयाँ कारोबार सुरु हुनासाथ तेलको मूल्य करिब ५ प्रतिशतले घटेको हो।
मध्यपूर्व क्षेत्रमा युद्धको अन्त्य हुने र तेल आपूर्तिमा देखिएको अवरोध हट्ने अपेक्षाले लगानीकर्ताहरूमा उत्साह देखिएपछि बजारमा यस्तो प्रभाव परेको हो।
सोमबारको कारोबारमा जुलाई महिनाका लागि आपूर्ति हुने ‘वेस्ट टेक्सास इन्टरमिडिएट’ (WTI) कच्चा तेल प्रतिब्यारेल ५.३५ अमेरिकी डलरले घटेर ९१.२५ डलरमा झरेको छ। यो अघिल्लो मूल्यको तुलनामा ५.५३ प्रतिशतको गिरावट हो।
त्यसैगरी, अन्तर्राष्ट्रिय मानक मानिने ‘ब्रेन्ट’ कच्चा तेलको मूल्य पनि ५.३८ प्रतिशत (५.५७ डलर) ले घटेर प्रतिब्यारेल ९७.९७ डलर कायम भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँगको शान्ति सम्झौता धेरै हदसम्म टुङ्गिएको र अन्तिम सहमतिका लागि अमेरिका, इरान तथा मध्यपूर्वका अन्य मुलुकहरूबीच छलफल भइरहेको बताउनुभएको थियो। प्रस्तावित सम्झौतामा ६० दिनको युद्धविराम विस्तार गर्ने, रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनमा ल्याउने, इरानलाई तेल बिक्री गर्न दिने र आणविक कार्यक्रमबारे वार्ता अघि बढाउने बुँदाहरू समावेश छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि इरानले हर्मुज जलडमरूमध्य खुला गरेमा अमेरिका आणविक मुद्दामा गम्भीर वार्ता गर्न तयार रहेको उल्लेख गर्नुभएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले पछिल्लो २४ घण्टामा ३३ वटा व्यापारिक जहाजले हर्मुज जलडमरूमध्य पार गरेको जानकारी दिएको छ। यसले उक्त महत्त्वपूर्ण समुद्री मार्ग आंशिक रूपमा सञ्चालनमा आइसकेको पुष्टि गर्दछ।
यद्यपि, ऊर्जा विश्लेषकहरूले भने युद्धका कारण उत्पादन संरचनामा पुगेको क्षति र ढुवानी समस्याका कारण आपूर्ति व्यवस्था तत्कालै युद्धपूर्वको अवस्थामा पुग्न कठिन हुने बताएका छन्। उनीहरूका अनुसार बजारमा आपूर्ति र मागको सन्तुलन मिल्न अझै समय लाग्ने र तेलको मूल्य पूर्ण रूपमा घट्न सन् २०२७ सम्म कुर्नुपर्ने हुनसक्छ। तर, अहिले देखिएको यो गिरावटले विश्व अर्थतन्त्रलाई भने केही राहत दिने अपेक्षा गरिएको छ।