स्वास्थ्य बीमामा औषधिको सङ्ख्या घट्यो, ‘सुविधा थैली’ परिमार्जनः जेठ १६ देखि नयाँ दररेट लागू

काठमाडौँ, १३ जेठ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारअन्तर्गत बीमितले पाउने ‘सुविधा थैली’ (बेनिफिट प्याकेज) को दररेटमा परिमार्जन गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया र प्रयोगशाला परीक्षणलगायतको दररेट हेरफेर गरेको हो।

परिमार्जित नयाँ दररेट यही जेठ १६ गतेदेखि देशभर लागू हुने बोर्डले जनाएको छ। बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले परिमार्जित नयाँ दरअनुसार मात्रै शुल्क लिन सेवा प्रदायक सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइसकेको जानकारी दिइन्। विगत १० वर्षदेखिको दाबी भुक्तानी, सेवा उपभोगको तथ्याङ्क, विभिन्न अस्पतालबाट प्राप्त दररेट, चिकित्सकीय सान्दर्भिकता, रोगको भार र समग्र स्वास्थ्य प्रणालीको वित्तीय दिगोपनलाई मुख्य आधार मानेर सुविधा थैलीको दररेट पुनरावलोकन गरिएको उनले बताइन्।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, बोर्डको वर्तमान वित्तीय अवस्था, दायित्व र स्वास्थ्य सेवा उपयोगको दरलाई हेरेर दररेट निर्धारण गरिएको हो। बोर्डमाथि पर्ने आर्थिक चाप घटाउने उद्देश्यसहित सुविधा थैलीको दररेट परिमार्जन गरिएको उनले स्पष्ट पारे।

नयाँ दररेट निर्धारण गर्दा औषधिको हकमा औषधि व्यवस्था विभाग, प्रयोगशाला परीक्षणमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य सेवाको हकमा सरकारी अस्पतालको शुल्कलाई आधार (Reference) मानिएको छ।

नयाँ सुविधा थैलीमा सरकारले यसअघि नै निःशुल्क दिँदै आएको ‘आमा सुरक्षा’ जस्ता दोहोरिएका कार्यक्रम र व्यवहारमा प्रयोग नहुने औषधिहरूलाई हटाइएको छ।

“स्वास्थ्य उपचार सेवाको न्यूनतम दररेट कायम गरेर नयाँ सुविधा थैली बनाइएको हो,” सूचना अधिकारी मल्लले भने, “प्रयोगमा नआउने औषधिहरू हटाइएको छ।”

यसअघि बोर्डले सुविधा थैलीअन्तर्गत १ हजार २८९ प्रकारका औषधि उपलब्ध गराउँदै आएको थियो। अनुपयोगी औषधिहरू हटाएसँगै अब बीमितले बोर्डमार्फत १ हजार १७० प्रकारका औषधि मात्र प्राप्त गर्नेछन्।