मुस्ताङमा लेक लागेर ९ विदेशीसहित १३ पर्यटकको मृत्यु
मुस्ताङ, १७ जेठ । हिमाली जिल्ला मुस्ताङको उच्च उचाइमा अक्सिजनको कमी र ‘हाइअल्टिच्युड’ (लेक लाग्ने) का कारण चालु आर्थिक वर्षको साढे १० महिनामा १३ जना पर्यटकको ज्यान गएको छ। मृत्यु हुनेहरूमा ९ जना विदेशी र ४ जना नेपाली नागरिक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत साउनदेखि जेठ १५ गतेसम्मको तथ्याङ्कमा १० पुरुष र ३ महिलाले ज्यान गुमाएका छन्। विदेशी पर्यटकमध्ये ७ पुरुष र २ महिला छन् भने नेपालीतर्फ ३ पुरुष र १ महिला रहेका छन्। ज्यान गुमाउने विदेशीहरूमा अधिकांश भारतीय पर्यटक रहेका छन्।
प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमणका लागि आएका पर्यटकहरू वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको उच्च स्थानमा बिरामी परेका थिए। उनीहरूको जोमसोमस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा वा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
समुद्री सतहदेखि ३ हजार मिटरभन्दा बढीको उचाइमा अक्सिजनको मात्रा कम हुने गर्दछ। बेँसीको समथर भूभागबाट सिधै उच्च हिमाली क्षेत्रमा आउँदा शरीरले वायुमण्डलसँग सन्तुलन मिलाउन नसक्दा लेक लाग्ने समस्या देखिन्छ। विशेषगरी ट्राभल एजेन्सीहरूले पर्यटकलाई बीच बाटोमा ‘होल्डिङ’ (विश्राम) नगराई सिधै उच्च स्थानमा पुर्याउने परिपाटीले जोखिम बढाएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
स्वास्थ्य विज्ञहरूका अनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी र शारीरिक रूपमा कमजोर व्यक्तिहरू उच्च जोखिममा हुने भएकाले यात्राका क्रममा पर्याप्त पानी पिउन, ठाउँ-ठाउँमा आराम गर्दै उचाइतर्फ लाग्न र टाउको दुख्ने वा श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिए तत्काल तल झर्न सुझाव दिइएको छ।