‘तुलसा कलेक्सन’ की सञ्चालक टिकटकर तुलसी अधिकारी पक्राउ

काठमाडौँ, १७ जेठ । ‘तुलसा कलेक्सन’ को नाममा ठगी गरेको आरोप लागेकी सञ्चालक एवं टिकटक प्रयोगकर्ता तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छन्। अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा पक्राउ परेकी अधिकारीलाई शनिबार काठमाडौँ ल्याइएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगीसम्बन्धी मुद्दाहरू विचाराधीन रहेका छन्। थाइल्यान्डबाट नेपाल ल्याइएकी अधिकारीलाई कानुनी प्रक्रियाका लागि आजै अदालतमा उपस्थित गराउने तयारी भइरहेको एसपी मिश्रले जानकारी दिनुभयो।

अधिकारीले सामाजिक सञ्जाल र व्यावसायिक आवरणको आडमा विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी ठगी गरेको उजुरी परेपछि प्रहरीले उनीविरुद्ध इन्टरपोलको सहयोगमा खोजी कार्य अघि बढाएको थियो।