राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक बहुमतले पारित
काठमाडौँ, १७ जेठ । राष्ट्रियसभाको आजको बैठकबाट निर्वाचनसँग सम्बन्धित दुई महत्त्वपूर्ण विधेयकहरू बहुमतले पारित भएका छन्। सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरेको हो।
बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयकहरू पारित गरियोस् भनी बेग्लाबेग्लै प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो। संसद्मा भएको छलफलपछि दुवै विधेयकलाई बहुमतले पारित गरिएको हो।
निर्वाचन सम्बन्धी विधेयकहरू पारित गरिएसँगै आजको राष्ट्रियसभा बैठक स्थगित भएको छ। सभाको अर्को बैठक भोलि सोमबार दिउँसो १:१५ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।