इटहरीमा कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु
काठमाडौँ, जेठ १७ । सुनसरीको इटहरीमा १६औँ कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा इटहरी रङ्गशालामा सुरु भएको सो प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले गर्नुभयो ।
आगामी सोमबारसम्म सञ्चालन हुने यस प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका करिब एक हजार ७०० खेलाडीहरूको सहभागिता रहेको छ। प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषका अनुसार प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ विधाका खेलहरू समावेश गरिएका छन् ।
यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई काठमाडौँमा आयोजना हुने राष्ट्रियस्तरको १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट गरिनेछ। प्रदेशस्तरीय छनोट सकिएलगत्तै सोमबार नै कोशी प्रदेशको तर्फबाट ११५ सदस्यीय खेलाडी तथा पदाधिकारीको टोलीलाई राष्ट्रिय प्रतियोगिताका लागि काठमाडौँतर्फ बिदाइ गरिने तयारी रहेको सदस्य सचिव घोषले जानकारी दिनुभयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाडौँमा यही जेठ २० देखि २२ गतेसम्म सञ्चालन हुने केन्द्र स्तरीय प्रतियोगितामा सातै प्रदेशका ६६० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने राखेपले जनाएको छ। कोशी प्रदेशको यस छनोट प्रतियोगिताले क्षेत्रीय खेलकुदको विकास र युवा प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।