काभ्रेको नमोबुद्धमा क्रसर उद्योग विरुद्ध स्थानीय आन्दोलित, भ्रष्टाचार विरोधी अभियन्ता प्रेमध्वज लामाको अगुवाइमा र भीमनाथको अध्यक्षतामा संघर्ष समिति गठन
काभ्रे, १८ जेठ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा सञ्चालित एक क्रसर उद्योगले वातावरणीय मापदण्ड मिचेको र सार्वजनिक सम्पत्ति दोहन गरेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन्। भ्रष्टाचार विरोधी अभियन्ता प्रेमध्वज लामाको अगुवाइमा स्थानीयले ‘पशुपति रोडा तथा ढुङ्गा उद्योग प्राली’ विरुद्ध संघर्ष गर्न सात सदस्यीय संघर्ष समिति गठन गरेका हुन्।
सोमबार स्थानीय बुद्धिजीवीहरूको भेलाले भीमनाथ उप्रेतीको अध्यक्षतामा संघर्ष समिति गठन गरेको हो। उद्योगले सञ्चालनका क्रममा गरेका गम्भीर अनियमितता र वातावरणीय क्षति विरुद्ध सामूहिक रूपमा आवाज उठाउन यो समिति बनाइएको अभियन्ता लामाले जानकारी दिनुभयो।
गठित संघर्ष समितिका अनुसार सो उद्योगले प्राकृतिक रूपमा बगिरहेको खहरे खोलालाई आफ्नो स्वार्थ अनुकूल फर्काएको छ। यसका साथै उद्योगले नजिकै रहेको सार्वजनिक वन जङ्गल समेत अतिक्रमण गरेको स्थानीयको दाबी छ।
“उद्योगले सडक, खोला, वन जङ्गल र बस्तीको दूरी सम्बन्धी सरकारी मापदण्डको धज्जी उडाएको छ,” संघर्ष समितिका एक सदस्यले भने। उद्योगको आफ्नो स्वामित्वमा करिब ११ रोपनी जग्गा रहे पनि त्यसको चारैतिर रहेका सार्वजनिक जग्गाहरू कब्जा गरेर उद्योग विस्तार गरिएको आरोप लगाइएको छ।
संघर्ष समितिले पहिलो चरणमा उद्योगको अवैध गतिविधि रोक्न र कानुनी कारबाहीको माग गर्दै सम्बन्धित सरकारी निकायहरूमा ध्यानाकर्षण पत्र तथा ज्ञापनपत्र बुझाउने योजना बनाएको छ। यदि स्थानीयको माग र वातावरणीय सुरक्षामा ध्यान नदिइए कडा आन्दोलन छेड्ने चेतावनी समितिले दिएको छ।
पछिल्लो समय काभ्रेका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगहरूले मापदण्ड विपरीत खोला र डाँडा दोहन गरिरहेको भन्दै नागरिक स्तरबाट विरोध हुँदै आएको छ।