एमालेको दुईदिने राष्ट्रिय संगठन कार्यशाला आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौँ, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा आजदेखि काठमाडौँमा दुईदिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक राष्ट्रिय कार्यशाला सुरु हुँदैछ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने यस कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने कार्यसूची रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयो।

पार्टीको साङ्गठनिक सुदृढीकरण र शुद्धीकरणलाई मुख्य एजेन्डा बनाइएको यस कार्यशालामा देशभरका प्रदेश तथा जिल्ला इन्चार्जहरू (भारत प्रवाससहित), प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, कार्यालय सचिव तथा जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको अनिवार्य सहभागिता रहनेछ।

दुई दिनसम्म चल्ने यस कार्यक्रममा पार्टी सदस्यता विस्तार, नवीकरणको आधुनिक प्रक्रिया, संगठन सुदृढीकरणका नयाँ रणनीति र भावी कार्ययोजनाबारे सघन छलफल गरिनेछ।

संगठन विभाग प्रमुख भानुभक्त ढकालले एमालेको समग्र साङ्गठनिक अवस्था र वस्तुस्थितिबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ। भने केन्द्रीय सदस्य एवं संगठन विभाग सदस्य माधव ढुङ्गेलले सदस्यता नवीकरणको प्राविधिक पक्ष र डिजिटल प्रणालीका बारेमा विशेष प्रस्तुति दिने तयारी छ। त्यस्तै सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी साङ्गठनिक समस्या र समाधानका उपायबारे छलफल र प्रस्तुतीकरण गराइनेछ।

एमालेले यस कार्यशालालाई आगामी निर्वाचन र पार्टीको आन्तरिक जीवनलाई थप गतिशिल बनाउने एउटा महत्त्वपूर्ण कडीका रूपमा लिएको छ। कार्यशालाको समापन भोलि (बिहीबार) महासचिव शङ्कर पोखरेलले गर्नुहुने कार्यक्रम रहेको छ।