सरकारलाई संयमित भएर अघि बढ्न एमाले अध्यक्ष ओलीको चेतावनी

काठमाडौँ, २० जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई संयमित भएर अघि बढ्न चेतावनी दिँदै उत्ताउलोपन लामो समय नटिक्ने टिप्पणी गर्नुभएको छ। काठमाडौँमा आजदेखि सुरु भएको पार्टीको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशालालाई सम्बोधन गर्दै उहाँले सरकारको वर्तमान कार्यशैली अराजक भएको आरोप लगाउनुभयो।

राणा शासन र पञ्चायती व्यवस्थाको पतनको उदाहरण दिँदै अध्यक्ष ओलीले इतिहासमा शासकहरूको उत्ताउलोपन लामो समय नटिकेको बताउनुभयो। “सरकार अहिले अत्यन्तै अराजक शैलीमा प्रस्तुत भइरहेको छ, यो तमासा धेरै समय चल्नेवाला छैन,” ओलीले भन्नुभयो, “अराजकता केही दिनको पाहुना मात्र हो, यो धेरै समय टिक्दैन।”

विगतको भदौ महिनामा भएको विध्वंसकारी आन्दोलनपछि मुलुकमा अराजकता र हिंसाको त्रास फैलिएको भन्दै उहाँले त्यतिबेला अन्य दलका कार्यकर्ता बोल्न नसकेको अवस्थामा एमालेका कार्यकर्ताहरू वडा वडाबाट सशक्त रूपमा उभिएको दाबी गर्नुभयो। “भदौ २४ पछि हिंसा र डरका कारण कोही बोल्न सकेका थिएनन्। त्यस्तो कठिन परिस्थितिमा एमालेका कमरेडहरूले वडा तहबाटै आवाज उठाए, जसले गर्दा अन्य दलहरूलाई पनि बोल्ने वातावरण बन्यो,” ओलीले भन्नुभयो। उहाँले त्यस कठिन समयमा साहस देखाउने पार्टीका सबै कार्यकर्ताहरूलाई धन्यवाद समेत दिनुभयो।