रुकुम पश्चिममा १३ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौँ, जेठ २५ । रुकुम पश्चिममा प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका ५, शेरिगाउँबाट प्रहरीले रुकुम पूर्वका दुई युवकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा रुकुम पूर्वको भूमे गाउँपालिका २ का हिमाल घर्ती र सोही ठाउँका २८ वर्षीय राज बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदबहादुर पौडेलका अनुसार, उनीहरूको साथबाट प्लास्टिकसहित कुल १३.२९ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

सदरमुकाम खलङ्गाबाट रुकुम पूर्वतर्फ जाँदै गरेको रा ७ प ९६१६ नम्बरको मोटरसाइकललाई शङ्का लागि जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला परेको हो । मोटरसाइकल चालक हिमाल घर्तीको साथबाट चस्माको खोलभित्र लुकाएर राखिएको १२ पुरिया (११.२६ ग्राम) र पछाडि सवार राज बुढाको गोजीबाट २ पुरिया (२.०३ ग्राम) ब्राउन सुगर बरामद भएको डिएसपी पौडेलले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागूऔषध ऐनअनुसार थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।