पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब नियमित उडान : फ्लाई दुबईले पायो अनुमति, सेप्टेम्बरदेखि दैनिक उडान हुने

पोखरा, २७ जेठ । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले सिधा उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी सेप्टेम्बर २३ (२०८३ असोज ७) देखि दुबई–पोखरा–दुबई रुटमा दैनिक उडानका लागि फ्लाई दुबईलाई अनुमति दिएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको उडान तालिका सोमबार स्वीकृत भइसकेको छ । “आगामी सेप्टेम्बर २३ देखि पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने निश्चित भएको छ,” उनले भने । फ्लाई दुबईको प्राविधिक टोलीले केही दिनअघि मात्रै विमानस्थलको सुरक्षा र सञ्चालन पक्षको विस्तृत निरीक्षण गरेको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसलाई पोखराको पर्यटन र आर्थिक विकासका लागि एउटा ऐतिहासिक अवसरका रूपमा चित्रण गरेका छन् । दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क जोडिएपछि पोखरा मध्यपूर्व, युरोप र अफ्रिकाका ३०० भन्दा बढी सहरहरूसँग सिधै जोडिने उनले बताए ।

“यो केवल एउटा हवाई सेवा थपिने विषय मात्र होइन, यसले काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्न र पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय हबका रूपमा स्थापित गर्न मद्दत गर्नेछ,” प्रमुख आचार्यले भने ।

झण्डै २२ अर्ब रुपैयाँ ऋणमा निर्माण भएको यो विमानस्थल सन् २०२३ जनवरी १ मा उद्घाटन भए पनि हालसम्म आन्तरिक उडानमा मात्र सीमित थियो । यसअघि हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सुरु गरे पनि गत मार्चदेखि उक्त सेवा बन्द भएको थियो ।

नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा चिन्तित बनेका व्यवसायीहरू फ्लाई दुबईको आगमनसँगै उत्साहित देखिएका छन् । उनीहरूले भारत र चीनका मुख्य सहरहरूमा पनि उडान विस्तार गर्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग राख्दै आएका छन् ।